काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले आगामी फागुन २१ मा हुने निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रवासी नेपाली संघ, भारत केन्द्रीय समितिको सातौँ बैठकलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधनगर्दै उहाँले देश बनाउने नयाँ संघर्षका रुपमा निर्वाचनलाई बुझ्नुपर्ने र सोहीअनुसार पार्टीका पक्षमा जनमत बनाउन लाग्न आग्रह गर्नुभएको थियो । पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहनुभएका उपाध्यक्ष थापाले आफ्नो पार्टी देशभक्त र राष्ट्र निर्माणको बलियो शक्ति भएको भन्दै निर्वाचनमार्फत थप बलियो बनाउन चुनावमा खट्न आग्रह गर्नुभएको थियो ।
उहाँले निर्वाचनबाट अध्यक्ष केपी ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनस्र्थापन गर्ने लक्ष्य पूरागर्न प्रवासमा रहेका नेपालीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो । पार्टीले सबैको सुझावअनुसार चुनावी घोषणापत्रको तयारी गरिरहेको जानकारीदिँदै देश र जनताका सरोकारका विषयका साथै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय सम्बन्धलगायत विषय त्यसमा समेटिने बताउनु भएको थियो । प्रवासी नेपाली संघ, भारतका अध्यक्ष नारायण हुमागाईंको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास संयोजक हरिप्रसाद घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो ।