काठमाडौं, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापानमा भेटघाट र छलफलमा ब्यस्त रहनु भएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोशेढुंगा भएको बताउनुभएको छ । उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । भेटमा राष्ट्रपति पौडेलले जापानले नेपाललाई द्विपक्षीय अनुदान र ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझै लाभान्वित हुन चाहन्छौँ भन्नुभएको थियो । नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिका क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धनगर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौँ भन्नुभयो । सांस्कृतिकरुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले लुम्बिनीको विकासमा जापानले पु¥याएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । जापानको सामाजिक–आर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्विपक्षीय सम्बन्धलाई कुनै न कुनै रुपमा बलियो बनाउन मद्दत पु¥याएको उहाँको भनाइ थियो । सो अवसरमा जापानका विदेश राज्यमन्त्री इवाओले गत भदौ २३ र २४ गते नेपालमा भएको प्रदर्शनीपछि संविधान र लोकतन्त्रको रक्षाका लागि राष्ट्रपति पौडेलले खेल्नुभएको भूमिकाप्रति देशबाहिर पनि अत्यन्त प्रशंसा भएको बताउँदै शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधैँ सहयोगगर्ने बताउनुभएको थियो ।

जापानी राज्यमन्त्रीले नेपालको शान्ति र समृद्धि भनेको यो क्षेत्रकै शान्ति र विकास भएको उल्लेखगर्दै दिगो शान्ति र स्थायित्वका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस्भन्ने जापानको अपेक्षा रहेको बताउनुभएको थियो । यसैगरी उहाँले नेपालको विकासमा जापानका तर्फबाट निरन्तर सहयोग हुने विश्वास दिलाउँदै बाढीबाट क्षतिग्रस्त काठमाडौं –सिन्धुली सडकको पुनर्निर्माण र काठमाडौँ–कोटेश्वरको सवारी व्यवस्थापनगर्न आवश्यक अन्डर पास निर्माणगर्ने निर्णय गरिसकेको पनि जानकारी दिनुभएको थियो । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सबिता पौडलसहितको नेपाली प्रतिनिधिमण्डल अहिले यहाँ उच्चस्तरीय भेटघाटमा व्यस्त छ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति पौडेल हिजो आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रासस