काठमाडौं, २१ माघ । अस्पतालका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट संकलन भएको रकममध्ये ३८ लाख ७७ हजार ७२४ सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट संकलन भएको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरुले व्यक्तिगत प्रयोगमा ल्याएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्धा चलाएको हो । अख्तियारकाअनुसार आर्थिक वर्ष ०८०÷०८१ मा अस्पतालका आठवटा बिल काउन्टरबाट कूल तीन करोड ८७ लाख ६६ हजार ९७४ संकलन भएको सफ्टवेयरमा देखिएको थियो तर, अस्पतालको आधिकारिक अभिलेखमा भने तीन करोड ४८ लाख ८९ हजार २५० मात्र दाखिला भएको पाइयो ।
सफ्टवेयरमा देखिएको र बैंकमा जम्मा गरिएको रकमबीचको ३८ लाख ७७ हजार ७२४ कर्मचारीहरुले बदनियतपूर्वक हिनामिना गरेको आयोगले जनाएको छ । अस्पतालका तत्कालीन प्रमुखहरु डा नागेन्द्रप्रसाद यादव र डा सरोज यादवले सफ्टवेयरमार्फत दैनिक आम्दानीको विवरण हेर्नसक्ने अधिकार भएपनि रकम कम जम्मा भएको जानकारी हुँदाहुँदै मौन बसेर अन्य कर्मचारीलाई भ्रष्टाचारमा सघाएको अख्तियारको दाबी छ । यस प्रकरणमा आयोगले अस्पतालका तत्कालीन प्रमुखद्वय डा नागेन्द्र र डा सरोज, तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोककुमार यादवलाई जनही ३८ लाख ७७ हजार ७२४ बिगो कायमगरी विपक्षी बनाएको छ । त्यस्तै बिल काउन्टरमा कार्यरत अ.हे.ब. श्यामकुमार मण्डललाई २५ लाख ४७ हजार ४१७, सहायक कर्मचारीहरु सरस्वतीकुमारी यादवलाई पाँचलाख दुई हजार ८१३, अजयकुमार मण्डललाई तीनलाख ७९ हजार २१, पूजाकुमारी यादवलाई दुईलाख ८८ हजार २२९ र रोशनकुमार यादवलाई एकलाख ६४ हजार ६५९ बिगो कायमगरी मुद्धादायर गरिएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस भ्रष्टाचार प्रकरणमा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि सरकारी बिगो असुलगर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ । मृतक मण्डलको हकमा फौजदारी कसुरको कैद सजाय मागदाबी लिन नमिल्ने भए तापनि भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्थाअनुसार हानिनोक्सानी भएको ३८ लाख ७७ हजार ७२४ उनको हक खाने श्रीमतीबाट असुलगर्न माग गरिएको छ । रासस