काठमाडौं, २१ माघ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एकजनालाई भारतमा पु¥याई शरीर बन्धक बनाएको आरोपमा सिरहा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार पक्राउपर्नेहरुमा कल्याणपुर नगरपालिका–७ का सुरज मुखिया र लहान नगरपालिका–११ का प्रशान्त चौधरी रहेका छन् । सूचना अधिकारी पालले दिनुभएको जानकारी अनुसार, कल्याणपुर नगरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको विहारस्थित गयामा आकर्षक काम लगाइदिनेभन्दै प्रलोभनमा पारिएको थियो ।
गत पुस २० गते त्यहाँ पु¥याएपछि मोबाइल र सर्टिफिकेटहरुसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाइएको थियो । पीडितलाई बन्धक बनाएर कुटपिटगर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम असुल गरेको पाइएको प्रहरीले जनाएको छ । अभियुक्तहरुले पीडितको परिवारबाट दुई लाख १७ हजार २०० नेपाली र आफ्नो साथबाट ३० हजार भारतीय रुपैयाँ जबर्जस्ती असुल गरिएको उहाँले जानकारी दिनुभयो । बन्धक बनाइएका रिशकेशलाई आपराधिक क्रियाकलापमासमेत संलग्न गराउन खोजिएको थियो । तर, उनी त्यहाँबाट भाग्न सफल भई नेपाल आएर प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीकाअनुसार प्रारम्भिक अनुसन्धानबाट यो एउटा सङ्गठित गिरोहजस्तो देखिन्छ । हामीले दुई जनालाई नियन्त्रणमा लिएका छौँ र यसमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको छ । पक्राउ परेका दुवै जनालाई अपहरण तथा शरीर बन्धक मुद्धामा म्याद थपगरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले वैदेशिक रोजगारीका नाममा आउनसक्ने यस्ता प्रलोभनहरुबाट सतर्क रहन सर्वसाधारणलाई अपिलसमेत गरेको छ ।