सिड्नी, २१ माघ । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणगर्न अष्ट्रेलियाको केन्द्रीय बैंकले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर बढाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा सर्वसम्मत निर्णयगर्दै नगद ब्याजदर ३.६० प्रतिशतबाट बढाएर ३.८५ प्रतिशत पु¥याएको जनाएको छ । यो निर्णय सन् २०२३ नोभेम्बरपछि गरिएको पहिलो ब्याजदर वृद्धि हो । यसअघि सन् २०२५ मा बैंकले तीन पटकगरी कुल ०.२५ प्रतिशतले ब्याजदर घटाएको थियो । केन्द्रीय बैंकको मौद्रिक नीति समितिकाअनुसार सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति त्यसपछि उल्लेख्य रुपमा घटेको भए पनि सन् २०२५ को दोस्रो भागमा फेरि तीव्ररुपमा बढेको हो ।
अष्ट्रेलियाको तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२५ डिसेम्बरसम्मको बाह्र महिनामा उपभोक्ता मूल्य सूचकांक ३.८ प्रतिशतले वृद्धिभएको छ, जुन अघिल्लो महिनाको ३.४ प्रतिशतभन्दा बढी हो । केन्द्रीय बैंकले मुख्य सूचककारुपमा लिने आधारभूत मुद्रास्फीति दर पनि डिसेम्बरमा ३.३ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा ३.२ प्रतिशत थियो । मौद्रिक नीति समितिले मुद्रास्फीति अझै केही समय दुईदेखि तीन प्रतिशतको लक्ष्य दायराभन्दा माथिरहने सम्भावना रहेको जनाएको छ । समितिका अनुसार निजी क्षेत्रको माग अपेक्षाभन्दा छिटो बढिरहेको छ, उत्पादन क्षमतामा दबाब बढेको छ र श्रम बजार पनि केही कडा अवस्थामा रहेको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको अद्यावधिक अनुमानअनुसार सन् २०२६ को मध्यसम्म वार्षिक मुद्रास्फीति दर ४.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि सन् २०२७ को मध्यसम्म मुद्रास्फीति घटेर २.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । रासस,सिन्ह्वा