काठमाडौं, २३ माघ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालनागर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगले आगामी फागुन २१ गते हुनलागेको प्रतिनिधिसभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको उल्लेखगर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन÷पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा गरेको छलफलमा सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

आयोगको अनुगमनबाट राजनीतिक दलका केही नेताहरु र उम्मेदवारहरुले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोगगरी घृणाजन्य अभिव्यक्ति दिएको, अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादनगरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरुलाई कुन दल÷नेतालाई भोट दिने ? भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो÷अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लंघन गरेको पाइएको छ ।

आयोगमा मानव अधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लंघन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ भनी समाचार तयारगरी भ्रम सिर्जना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाएको छ । केही राजनीतिक दलका कार्यालयहरुमा तोडफोड भएको, यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधिहरु र सञ्चाकर्मीहरुसँग छुट्टाछुट्टै गरेको छलफलमा उल्लिखित विषयहरुलाई उठाइएको अनुगमनबाट पाइएको छ ।