
काठमाडौं, २३ माघ । प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदानगर्ने भएको छ । धादिङको सल्यानटारमा बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार÷परिमार्जन गर्ने समेत उक्त बैठकले निर्णय गरेको छ । बैठकमा चालु आर्थिक वर्षको हालसम्मको कार्यक्रम, प्रगति तथा थप कार्यक्रमसहित निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट शुरुगर्ने बैठकले निर्णयगरेको छ ।
पहिलोचरणमा सात प्रदेशका प्रमुख सहरमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक कार्यक्रम सञ्चालनगर्ने तथा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ । बोर्ड बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्नगर्न निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न÷गराउन सम्बन्धित सबैमा अपिलगर्ने निर्णय गरेको छ । बैठकपश्चात् काउन्सिलले धादिङबेँशीमा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, शैक्षिक एवं सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीरुको सहभागितामा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको विज्ञप्तिमा उल्लेख छ ।