काठमाडौं, २३ माघ । अखिल क्रान्तिकारीका नेताहरु पक्राउ परेका छन् । शुल्क शोषणविरुद्ध आन्दोलनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) का अगुवा नेताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै सो संगठनले विरोध गरेको छ । अखिल (क्रान्तिकारी) का अनुसार त्रि.वि.मा भइरहेको शुल्क शोषणको विरोधमा अखिल (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिको अगुवाइमा ३४ दिनसम्म शान्तिपूर्णरुपमा सञ्चालन भएको बिद्यार्थी आन्दोलन ०८२ साल भदौ १० गते त्रि.वि. प्रशासनसँग लिखित सहमति भएपछि स्थगित गरिएको थियो। तर सहमति कार्यान्वयन गर्नुको सट्टा प्रशासनले आन्दोलनका अगुवा बिद्यार्थी नेताहरुलाई पक्राउगर्नु निन्दनीय र आपत्तिजनक रहेको संगठनको ठहर छ ।

पक्राउपर्नेहरुमा अखिल (क्रान्तिकारी) का त्रि.वि. जिल्ला अध्यक्ष दिनेश ऐर, उपाध्यक्षहरु तेज प्रकाश सञ्ज्याल र शिव भट्ट तथा विक्की विष्ट रहेका छन् । अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले जारीगरेको विज्ञप्तिमा बिद्यार्थीको हक, हित र अधिकारका लागि आवाज उठाउनु अपराध नभएको उल्लेखगर्दै संवाद र सहमतिबाट समाधान गर्नुपर्ने विषयमा डण्डा र गिरफ्तारी प्रयोग गर्नु स्वयं प्रशासनको असफलताको स्वीकारोक्ति भएको बताइएको छ।

संगठनले तत्काल मागगर्दै पक्राउ परेका सबै बिद्यार्थी नेताहरुलाई बिना सर्त रिहागर्न, भदौ १० गते भएको सहमतिलाई पूर्ण रुपमा कार्यान्वयनगर्न तथा शुल्क शोषण अन्त्यगर्दै आम बिद्यार्थीका जायज माग तुरुन्त पूरागर्न आग्रह गरेको छ ।