काठमाडौं,५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा कास्की जिल्ला अदालतले तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ताका लागि अदालतमा दिएको निवेदनमाथि हिजो सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्धा तत्काललाई होल्डगर्ने आदेश गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उक्त मुद्धा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो ।

जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयका विषयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले सर्वोच्च अदालतबाट आउने आदेशपछि मात्र जिल्ला अदालतले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । स्रेस्तेदार खनालले मुद्धा फिर्तागर्ने वा नगर्ने भन्ने आदेश भएको होइन, यो विषयमा सर्वोच्चमा पनि रिट परेकाले सर्वोच्चको आदेश नआउञ्जेलसम्म होल्डमा राख्ने कुनै प्रक्रिया अगाडि नबढाउने आदेश भएको हो भन्नुभएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थियो । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछाने प्रतिवादी रहेको सहकारी ठगी मुद्धा यथावत राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता लिने निर्णय गरेको थियो ।