
काठमाडौं,५ फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताउनुभएको छ । निर्वाचन आयोगद्वारा हिजो आयोजित ‘निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापन र निर्वाचनमा महिलाका लागि सुरक्षित वातावरण प्रवद्र्धन’सम्बन्धी कार्यक्रमलाई सम्बोधनगर्दै उहाँले नीतिलाई प्रधानता दिएर दल र उम्मेदवार परिचालित हुनुपर्नेमा जोड दिनुभएको थियो । ०४३ सालमा रुपचन्द्र विष्टले आफ्ना नीति, कार्यक्रमसहित जनतासँगै पैसा मागेर चुनाव जित्नुभएको स्मरण गर्नुभएको थियो ।
त्यसबेला यस्तै उम्मेदवार नौजनाले जितेको पनि उहाँले सुनाउनुभएको थियो । उहाँले निर्वाचन खर्चको हद पार गरे उम्मेदवारी खारेज गरिनेसम्मको कारवाही हुन्छ, आइतबारमात्र आयोगले निर्वाचनको प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने विषयमा ६३ बुँदामा गर्न हुने र नहुने विषयमा जानकारी गराएको छ । देशलाई सुशासनमा लैजान मितव्ययी निर्वाचन आवश्यक छ, राजनीतिलाई व्यापारीकरण गरिनुहुन्न भन्नुभएको थियो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा त्यसअघिका कानूनभन्दा नयाँ कानुन तर्जुमा गरेर चुनाव गराइएको स्मरण गर्नुभएको थियो । चुनावमा गरिने खर्च नै देशमा भ्रष्टाचार बढाउने माध्यम बनेकाले यसमा सुधारका लागि आयोगको पहल सकारात्मक रहेको उहाँको भनाइ थियो ।