काठमाडौं,५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले एक बक्तब्य प्रकाशितगरी नेपालका बढ्दो विदेशी हस्तक्षेपको बिरोध गर्नुभएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ– साम्राज्यवादपरस्त सामन्ती, दलाल पूँजीवादी संसदीय व्यवस्था अन्तर्गतका गैरजिम्मेवार र भ्रष्ट संसदवादी दल र तिनका नेतारुको बर्चस्व भएको संसदले आम नेपाली जनताको ब्यापक बिरोध हुँदाहुँदै नेपालको राष्ट्रिय हितबिपरीत भयानक राष्ट्रघाती एमसीसी सम्झौता विगतमा पारित गरेको र त्यसले नेपाललाई अमेरिकी साम्राज्यवादी सुरक्षा रणनीती आईपीएसमा समावेशगर्ने र अन्ततः नेपाललाई चीनविरोधी युद्ध अखडामा परिणतगर्ने अमरिकी गुरुयोजनालाई सफल पार्ने आधार खडा गरेको हो । त्यसैलाई पूरा गराउनको लागि एसपीपी सम्झौता समेतगर्न अमेरिकाले दबावदिदै आएको यथार्थ जग जाहेर छ । एमसीसी सम्झौताको जनतामा ब्यापक बिरोध भएको परिप्रेक्षमा विगतमा सरकारले पछिल्लो एसपीपी सम्झौतागर्न आनाकानी गरेपछि पुराना दल, नेता र तिनका सरकार र संसदलाई जेनजी आन्दोलनद्वारा हुत्याएर अमेरिकी सम्राज्यवादले आफ्नो कठपुतली अन्तरिम सरकार र त्यसद्वारा आफ्नो अनुकूलताको नयाँ संसद र सरकार निर्माण गराउने धृष्टता गरिरहेको कुरा पनि अब सबैमा छर्लङ्ग भइसकेको र भइरहेको छ ।

घटना बिकासको यसै सन्दर्भमा अहिले अमेरिकी सेना आईपीएसका कमाण्डर जनरल एडमिरल शमायू पापारो तीन दिने नेपाल भ्रमणमा आएर सरकारी अधिकारीहरुका अतिरिक्त निर्वाचनमा उठे उठाइएका खासखास उम्मेद्वारहरुलाई समेत भेट्ने जुन गतिविधिहरु गरे ती घोर आपत्तिजनक थिए नै । यसले नेपाली सार्बभौमिताको ठाडै उल्लंघन गरेको र नेपाल अमेरिकी सैन्य रणनीति मातहत चल्न थालेको प्रष्ट भैरहेकै क्रममा अस्ति शिवरात्रीका दिन नेपाली सेना दिवसमा अमेरिकी सैन्य टुकुडीलाई नियमित प्रकृयाको नाममा समावेश गरी टुँडीखेलको सैन्य परेडमा सामेल गरिनुले स्थिति थप संबेदनशील, गम्भीर र भयावह बनेको छ । यसरी नेपाल परराष्ट्र सम्वनधमा आफ्ना पञ्चशील, असंलग्नता, संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र छिमेकसँगको सम–मैत्री नीतिजस्ता संवेदनशील र गम्भीर महत्वका सर्वमान्य मूल्यमान्यता र परम्परालाई लत्याएर अमेरिकी हैकमअनुसार उसको सैन्य रणनीती र सैन्य गठबन्धनमा सामेल हुनथालेको कुरा समेत प्रष्ट हुँदैगएको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले यस्ता गतिबिधिहरु नेपाल र नेपाली जनताको सार्वभौमिकता, स्वाधीनता, अखण्डता, शान्ति,समानता र छिमेक–मैत्री सम्बन्ध बिपरीतका घोर विरोधी र अत्यन्तै अबाञ्छित गतिबिधि हुन् भन्ने ठहर गर्दछ र साम्राज्यवादका अगाडि लाचार सुशीला सरकारका यस्ता अस्वीकार्य र अमान्य गतिविधिहरुको घोरनिन्दा र भत्र्सना गर्दछ ।

स्मरणीय छ, यसै परिप्रेक्षमा नेपालको वर्तमान असंबैधानिक सरकारद्वारा नेपालले दशकौंदेखि अँगाल्दै आएको एक चीन नीतिबिरुद्ध गएर तिब्बतका पृथकतावादीहरुलाई आडधापदिंदै चीनबिरोधी गतिबिधिमा संलग्न दलाई लामाका प्रतिनिधि पञ्चेन लामालाई खुल्लम खुल्ला ठूलो सम्मान दिइएको जस्ता कृयाकलापका कारणलेसमेत नेपालप्रति चीन रुष्ठ भएर प्रस्तुत हुन थालेको प्रतीत भइरहेको छ । बक्तब्यको अन्त्यमा संबेदनशील भूराजनीतिक अबस्थामा रहेको हाम्रोजस्तो देशले शक्ति राष्ट्रहरुको द्वन्द्व र टक्करको चपेटामापर्नु अद्वितीय संकट निम्त्याउनु बाहेक अरु केही हुँदैन । यसका बिरुद्ध नेपाल र नेपाली जनताको हक हित तथा सुरक्षा र सुनिश्चित भबिष्य चाहने नेपालका सम्पूर्ण राष्ट्रप्रेमी सचेत शक्ति र आम जनसमुदाय एकताबद्ध भएर आबाज उठाउन र खबर्दारीगर्न तथा नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय शान्ति सुरक्षा र राष्ट्रिय हित संरक्षण गर्न संयुक्त् भएर सशक्त संघर्षमा सामेल हुनको निम्ति हाम्रो पार्टी सम्बन्धित सबैपक्षसँग गम्भीरतापूर्वक हार्दिक र जोडदार आग्रह र अपिल गर्दछ भनिएको छ ।