काठमाडौं,६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने सुझाव दिनु भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज बुधबार एक भिडियो सन्देश जारीगर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले बक्तब्यमा आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्ननसक्ने उल्लेखगर्दै पहिले सबै पक्षबीच सहमति हुनुपर्ने पनि बताउनु भएको छ । उहाँले बक्तब्यमा अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ भन्नुभएको छ । उहाँले आगामी २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्ष रुपमा आग्रहसमेत गर्नुभएको छ ।
उहाँले प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भएपनि यतिखेरको आम जनभावना यो छकि राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ । मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो भन्नुभएको छ । उहाँले यतिबेला देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महशुस भएको बताउनुभएको छ । संघर्षको आडमा गरिएको परिवर्तनले नेपाल र नेपालीलाई के दियोभन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको उहाँको भनाई छ । उहाँले सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबद्र्धनगर्न उनले सबै पक्षसँग आग्रहसमेत गरेका छन् ।
आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदानै सही बाटो हुने बताउनु भएको छ । उहाँले अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भूमरीमा फसेको र देशको अस्तित्वनै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको बताउनु भएको छ ।