काठमाडौं,६ फागुन । नेपाली कम्युनिष्ट पार्टीले आगामी २१ गतेको निर्वाचनका लागि भयरहित वातावरणमा बनाउन माग गरेको छ । सो पार्टीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेको हो । सो पार्टीले एक पत्रकार सम्मेलनगरी निर्वाचन विथोल्न चाहने शक्तिहरु अहिले पनि सक्रिय भएको उल्लेखगर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेको छ ।

नेकपाले विभिन्न पक्षबाट कतिपय प्रशंगगमा दलहरुपिच्छे आचारसंहिता अनुगमनमा फरक व्यवहार तथा आचारसंहिता उल्लंघनविरुद्ध प्रभावकारी निगरानी र कारवाही नगरेको जस्ता प्रश्नहरु निर्वाचन आयोगमाथि उठाइएका छन्, जटिल परिस्थितिमा निर्वाचनगर्न लागेको आयोगले आफूमाथि प्रश्न उठ्न नदिन, जनतामा भ्रम छरिनबाट रोक्न तथा आचार संहिताविपरीतका सबै गतिविधिहरुविरुद्ध प्रभावकारी कदम चाल्दै जनताको विश्वास कायम राख्नुपर्छ भनेको छ । निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चितगर्न स्पष्ट निर्णय, कडा निगरानी र आचारसंहिता कार्यान्वयनमार्फत जनविश्वास सुदृढगर्नु निर्वाचन आयोगको संवैधानिक दायित्वसमेत रहेकाले आयोगले विगतमा झैँ आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गर्नेछभन्ने पार्टीको अपेक्षा छ ।

पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन प्रचार समितिका संयोजक अग्नीप्रसाद सापकोटाले वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढगर्न र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चितगर्न नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शनगर्न हामी हार्दिक आह्वान गर्दछौँ भन्नुभएको थियो । केही सीमित सञ्चारमाध्यम पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिताविपरीत भ्रामक र गलत सूचना फैलाएर आफ्नो पार्टीलाई अवमूल्यनगर्ने प्रयासमा निरन्तर लागिरहेको उहाँको भनाइ थियो ।