काठमाडौं,६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले हिजो फागुन ५ गते आह्वान गरिएको नेपाल बन्द सफल भएको दाबी गर्दै आन्दोलनमा साथ र समर्थन जनाउने सम्पूर्ण जनसमुदायप्रति आभार व्यक्त गरेको छ । सो पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा राष्ट्रिय स्वाधीनताको रक्षा, स्वाधीन संयुक्त सरकार गठन तथा जनसंविधान निर्माणको बाटोमा अघिबढ्ने उद्देश्यसहित बन्द आह्वान गरिएको उल्लेख गरिएको छ । वक्तव्यमा मुलुकको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक संकटका बीच राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याहरु झन् जटिल बन्दैगएका छन् । यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षागर्दै नयाँ राजनीतिक निकास खोज्नुपर्ने आवश्यकता औंल्याइएको छ । सो पार्टीले जनताका आधारभूत आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका सवालमा राज्य असफल भएको आरोपसमेत लगाएको छ ।
नेपाल बन्द सफल बनाउन सहयोग पु¥याउने मजदुर, किसान, शिक्षक, बिद्यार्थी, व्यापारी, यातायात व्यवसायी, उद्योगी, पेशाकर्मी तथा उत्पीडित समुदायप्रति पार्टीले विशेष धन्यवाद ज्ञापन गरेको छ । बक्तब्यमा विभिन्न राजनीतिक शक्ति, देशभक्त र जनवादी अभियानहरुले दिएको नैतिक समर्थनले आन्दोलनलाई थप बल पुगेको वक्तव्यमा उल्लेख गरिएको छ । यसैबीच पार्टीले आफ्ना महासचिव धर्मेन्द्र बास्तोलालाई काठमाडौंको टेबहाल र केन्द्रीय सदस्य विनोद मरासिनीलाई बुटवल उपमहानगरपालिका–१४ स्थित निवासबाट पक्राउ गरिएको जनाएको छ ।
त्यस्तै जिल्ला सदस्य शोभे थारुलाई कपिलवस्तु जिल्ला पिपरा क्षेत्रबाट र अर्का जिल्ला सदस्य पूर्ण तिवारीलाई सुर्खेत जिल्ला अन्तर्गत भेरीगंगा नगरपालिका–ठूलो जात्रिस्थित घरबाट पक्राउ गरिएको दाबी गरिएको छ । पार्टीले ती गिरफ्तारहरुलाई राज्यद्वारा गरिएको दमनकारी कदमको संज्ञादिँदै राजनीतिक आस्थाका आधारमा गरिएको धरपकड अस्वीकार्य भएको जनाएको छ । बन्दकाक्रममा नेताहरुलाई घरबाटै पक्राउ गरिएको उल्लेखगर्दै यसले लोकतान्त्रिक अधिकारमाथि प्रहार गरेको आरोप लगाइएको छ । सरकारले तत्काल सबै पक्राउ परेका नेता तथा कार्यकर्तालाई बिनाशर्त रिहागर्न सरकारसँग माग गरेको छ ।