काठमाडौं,६ फागुन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे एक लाखसम्म जरिवाना हुनेभएको छ । समितिले भित्तेपात्रो प्रकाशनगर्दा अनिवार्यरुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेण्डर प्रकाशनगर्न नपाइने बताउनुभयो । कार्यकारी निर्देशक पन्थीले समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ भन्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश–०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएरमात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशनगर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिइ पात्रो तथा क्यालेण्डर प्रकाशन गरे १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिइ पात्रो वा क्यालेण्डर प्रकाशनगरेको विषयको अनुगमनगर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ । कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशनगर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्यरुपमा स्वीकृति लिनुपर्ने बताउनुभएको छ ।

बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरणगर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्यरुपमा स्वीकृति लिनुपर्ने हुन्छ । समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तयगरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशनगर्ने क्यालेण्डरको स्वीकृतिका लागि दुई हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेण्डरको स्वीकृतिका लागि पाँच हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेण्डर स्वीकृतिमा १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । रासस