
काठमाडौं, ७ फागुन । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरुको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघिबढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ । उहाँले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्तगर्दै लोकतन्त्रको प्रवद्र्धन र सुदृढीकरणका लागि संसद् महत्वपूर्ण संस्था भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभाले नीतिनिर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारहरुको संरक्षण तथा राष्ट्रिय हितका विषयहरुमा निरन्तर क्रियाशील रहँदै आएको छ भन्नुभएको छ ।
००७ सालको राजनीतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्तगर्दै उहाँले देशको अग्रगामी परिवर्तन र लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक जनसंघर्ष र जनआन्दोलनमा योगदान गर्ने सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ–जहानियाँ राणाशासनको अन्त गरी देशमा प्रजातान्त्रिक शासन व्यवस्था शुरुवात गरिएको फागुन ७ नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक दिन हो ।
प्रजातन्त्र दिवस मनाइरहँदा नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं संविधान सभाबाट निर्मित नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयनतर्फ सबैले ध्यान दिन जरुरी छ । अध्यक्ष दालहालले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, अभिव्यक्ति स्वतन्त्रता एवम् देशको समृद्धि र विकासका लागि सबैलाई एकताबद्धभई अघि बढ्न प्रजातन्त्र दिवसले प्रेरणा मिलोस् भनि कामना गर्नुभएको छ ।