एकराज पाठक
नेपालबाटै पहिलोपटक प्रकाशन भएको नेपाली भाषाको साहित्यिक पत्रिका सुधासागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहासले १२७ वर्ष पूरा गरेको छ । यो मासिक पत्रिकाको प्रकाशन १९५५ साउनमा भएको थियो । त्यसको तीन वर्षपछि अर्थात् १९५८ को वैशाख २४ गते साप्ताहिक पत्रिकाका रुपमा गोरखापत्र प्रकाशन भएपछि नेपालमा अखबारी पत्रकारिताको शुरुआत भएको मान्न सकिन्छ । यस हिसाबले हेर्दा हाम्रो देशमा पत्रकारिताको इतिहासलाई पुरानो एवं सम्पन्न नै मान्नुपर्छ । नेपालमा ००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापनापछि मात्र नेपाली प्रेसले नागरिकको विचार तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्राको उपयोग तथा उपभोग गर्ने अवसर प्राप्त गरेको हो । जसका बाबजुत राणा शासनको १०४ वर्षको अवधि गोरखापत्रसहित जम्मा १३ वटामात्र पत्रिका प्रकाशनमा सीमित रहेकामा ००७ देखि ०१७ सालको प्रजातन्त्रको दशकमा ३०० को हाराहारीमा पत्रपत्रिका प्रकाशित भएका थिए । यो उत्साहपूर्ण अवस्थालाई मध्यनजर गरी सरकारले पत्रिका प्रकाशनको कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सोच बनायो र ०१४ माघ २९ गते तत्कालीन विशेष न्यायाधीश कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा प्रेस कमिसन गठन ग¥यो । राज्यस्तरबाट मुलुकको प्रेस जगत्को अस्तित्व या आवश्यकता स्वीकारिएको सायद यो नै पहिलो घटना हुनसक्छ । तत्कालीन शाही प्रेस सेक्रेटरी, सञ्चार मन्त्रालयका प्रतिनिधि, वरिष्ठ पत्रकारहरु र सञ्चार क्षेत्रका विज्ञसमेत सम्मिलित सात सदस्यीय सो कमिसनले नेपाल सरकारलाई ०१५ साल जेठमा प्रतिवेदन बुझायो । नेपाली पत्रकारिताको इतिहासमा प्रेस कमिसन प्रतिवेदन ०१५ का नाममा परिचित यस प्रतिवेदनले त्यो अवधिका करिब ३०० को हाराहारीमा प्रकाशन भइरहेका पत्रपत्रिकाको व्यवस्थापन प्रवद्र्धन र संरक्षणका लागि विभिन्न बुँदामा सुझाउ प्रस्तुत गरेको छ ।

सो प्रतिवेदनले नेपालमा समाचार समितिको स्थापना गर्नुपर्ने सुझाव पनि दिएको थियो । यही प्रतिवेदनले नै पहिलोपटक नेपालमा समाचार समिति स्थापना हुनुपर्ने सुझाएको थियो । सम्भवतः यही सरकारी कमिसनको सुझावका आधारमा हुनुपर्दछ देशमा समाचार समितिको जन्म भयो । सरकारी समितिले दिएको सुझाव भए पनि मुलुकको पहिलो समाचार समिति भने निजी क्षेत्रको प्रयासबाट आएको छ । मुलुकमा पहिलोपटक समाचार समितिलाई जन्म दिने श्रेय त्यो समयका युवा पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरलाई जान्छ । उहाँहरुले ०१६ पुस १ गते नेपाल संवाद समिति, नेससको स्थापना गर्नुभयो । त्यतिबेलासम्म नेपालमा रेडियोको पनि जन्म भइसकेको थियो । प्रजातन्त्र रेडियो (वर्तमान रेडियो नेपाल) नै ००७ सालबाट प्रसारण शुरुभएको हो । यसरी पत्रिकापछि रेडियो हुँदै नेपाल समाचार समिति युगमा समेत प्रवेश गरेको थियो । यसको करिब साढे चार महिनापछि पत्रकारहरु मणिन्द्रराज श्रेष्ठ, पशुपतिदेव पाण्डे र शंकरनाथ शर्माले ०१७ साल वैशाख ३० गते सगरमाथा संवाद समिति, सससको स्थापना गर्नुभयो । यो नेपालको दोस्रो समाचार समिति भयो । उता राजा महेन्द्रले ०१७ साल पुस १ गते देशको दुई तिहाइ बहुमतको कांग्रेस सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्थाको शुरुवात गरे । प्रजातन्त्रको त्यो दशकमा नेपालको इतिहासमा पहिलोपटक प्रेस स्वतन्त्रताको भरपूर अभ्यास गरिरहेको नेपाली प्रेस अब सरकारी ‘सेन्सरसिप’को फेला पर्ने निश्चितजस्तै भयो । राजाको त्यो कदमले बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगाएसँगै अब देशमा प्रेस स्वतन्त्रताका कदमलाई पनि थप कडा पार्न थालियो । सरकार र विशेषगरी पञ्चायती व्यवस्थाको विरोध गरेर लेख्न नपाइने, बहुदलवादी राजनीतिक दलहरुका क्रियाकलापहरुले पत्रपत्रिकामा स्थान नपाउने भएपछि अब पत्रपत्रिका प्रकाशनको दायरा खुम्चिने अवस्थातिर पुग्यो । यदि पत्रपत्रिका नै प्रकाशनमा आएनन् भने त समाचार समितिको अवस्था पनि कमजोर हुने नै भयो ।

सगरमाथा संवाद समितिका संस्थापक मणिन्द्रराज श्रेष्ठले केही समयअघि समाचार समिति स्थापना गरिहाले पनि सञ्चालन गर्न निकै कठिन भएको अनुभव सुनाउनुभएको थियो । उहाँले निकै थोरै पैसा लिएर स्वदेशी दैनिक पत्रपत्रिकालाई समाचार बिक्री वितरण गरी आएको र दुईवटा समाचार समितिको सञ्चालन आर्थिक अवस्थाका कारण पनि कठिन हुँदैगएको अनुभव सुनाउनुभएको थियो । त्यसैमा पनि अब पत्रिका बन्द हुने अवस्था देखेपछि ती समाचार समिति एक प्रकारले भन्ने हो भने बन्द हुने अवस्थामै पुगका थिए । त्यसै समयमा राजा महेन्द्र स्वयं नै सरकारले नै गोरखापत्र र रेडियो नेपालजस्तो गरी संवाद समिति सञ्चालन गनुपर्ने योजनामा रहेका थिए । यसअनुरुप यी दुवैलाई गाभेर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति, राससको स्थापना गरी सञ्चालन शुरु गरेको देखिन्छ । यसरी राससको स्थापना गर्दा नेपाल सरकारका तर्फबाट सरकारका तत्कालीन सचिव रामराज पौड्याल, नेपाल संवाद समितिका तर्फबाट गोविन्द वियोगी र सगरमाथा संवाद समितिका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापकका रुपमा छानिनुभएको थियो । उहाँहरु नै राससका संस्थापक हुनुहुन्छ । दुई समाचार समिति गाभ्नुपर्नाको कारण आर्थिक नै भएको संस्थापकहरुले समय समयमा विभिन्न माध्यमबाट व्यक्त गर्नुभएका अनुभवबाट पनि थाहा हुन्छ । त्यही राससले देशको प्रमुख समाचार समितिकारुपमा आफ्नोे ६५ वर्षे ऐतिहासिक यात्रा पार गरेको छ । आज राससको ६५ औँ वार्षिकोत्सव हो । यसको स्थापनाको समयका तुलनामा आज समय र प्रविधिमा आकास पातालको परिवर्तन आइसकेको छ । उ बेला समाचार बुलेटिन छापेर वितरणगर्दै आएको राससको सेवा अहिले भने संसारका कुनै पनि कुनाबाट ‘लग–इन’ गरेर प्राप्त गर्न सकिन्छ । उ बेला लिथोग्राफी र कागजी बुलेटिनमा छापिएको रासस अहिले कागजविहीन अर्थात् ‘पेपरलेस’ स्वरुपमा सेवा प्रदान गर्नसक्ने हैसियतमा पुगेको छ । बितेको छ दशकमा राससले जसरी सेवा ग¥यो त्यसको तुलनामा यतिखेर देशमा राजनीतिकरुपमा पनि धेरै परिवर्तन भइसकेको छ ।

अहिले राससलाई राजदरबारको प्रवक्ता एवं मुख्य प्रचारकको रुपमा काम गनुपर्ने बध्यता छैन । नत पञ्चायती व्यवस्थाजस्तै कुनै व्यवस्थाको पक्षपोषण गर्नुपर्ने दबाब नै छ । उ बेला र पछिल्लो समयका अनेक कालखण्डका तुलनामा राससलाई अहिले समाचार उत्पादन र वितरणमा स्वतन्त्रता छ । त्यसबेला देशमा करिब साढे दुई सयको हाराहारीमा रहेका पत्रिकालाई सेवा दिने प्रयोजनार्थ सम्पादकहरुले समाचार समितिको आवश्यकता ठानेका थिए भने आज राससका अगाडि हजारौँ आमसञ्चारमाध्यम छन् । फेरि ती माध्यमभन्दा पनि बलिया सामाजिक सञ्जालहरु छन् । यी सञ्जालले ती मिडियाले भन्दा बढी सूचना बोकेका र प्रसार गरेका छन् । त्यस्तै सञ्चारमाध्यमको विविधता पनि दिनप्रतिदिन अचम्मको बन्दै गएको छ । जस्तो कि त्यसबेला समाचार समितिहरुले शुरुमा हातले लेखेको र पछि लिथोमा तयार पारिएका समाचार बुलेटिनहरु वितरण गर्ने गर्दथ्यो भने अहिले एउटै क्लिकमा देशभित्र मात्र नभएर जुनसुकै कुनाका लागि पनि सेवा उपलब्ध छ । अनि त्यसबेला शुरुमा पत्रिका र रेडियो मात्र रहेकामा पछि टेलिभिजन पनि समाचार समितिका सेवाग्राहीको सूचीमा परेको थियो भने अहिले अनलाइन न्युज पोर्टलहरु मुख्य सञ्चारमाध्यमका रुपमा उदाएका छन् । यसरी सञ्चारका माध्यमको प्रकृति फेरिएको छ र प्रविधिले समाचार सम्प्रेषणका तौरतरिकालाई पनि पूर्णतः बदलिदिएको छ । प्रेस काउन्सिल नेपालको वार्षिक प्रतिवेदन–०८०÷८१) का अनुसार नेपालमा दैनिक पत्रपत्रिका ७४०, अर्धसाप्ताहिक ३१, साप्ताहिक दुई हजार ९०५, पाक्षिक ४०१, मासिक ६१२, द्वैमासिक ६१, त्रैमासिक १११, अन्य ३८ गरी चार हजार ८९९ वटाको संख्यामा प्रकाशन दर्ता रहेको अभिलेख छ । यसैगरी पाँच हजार वटाको हाराहारीमा अनलाइन न्युज पोर्टल दर्ता भएका छन् भने एक हजारभन्दा बढी तथा २४६ टेलिभिजन सञ्चालनका लागि इजाजत लिएको देखिन्छ । पत्रकार महासंघको एक तथ्यांकअनुसार नेपालमा महासंघमा आबद्ध रहेका पत्रकारको संख्या आठ हजारको हाराहारीमा छ ।

त्यसो त महासंघमा आबद्धता नरहेका अर्थात् सदस्य नरहेका पत्रकारको संख्या पनि छ । यो तथ्यांकबाट नेपालमा आमसञ्चारका माध्यमहरुको स्थापना र सञ्चालनको दायरा विस्तारितहुँदै गएको स्पष्ट त देखिन्छ नै, यसका अतिरिक्त पत्रकारहरुको संख्या पनि बढ्दै गएको छ । त्यसैले यो विशाल बजारका अगाडि राससले आफूलाई प्राविधिक र समाचारीय स्वरुपमा आमूल फेरबदल ल्याउनुपर्ने अवस्था छ । देशको समाचार समितिका सामु यी दु्रत मिडियासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती एकातर्फ छ भने अर्कातर्फ विश्वसनीयताका लागि सन्तुलन कायम गर्नुपर्ने पनि छ । किनभने कहीँ कतै ‘आशङ्का’ लाई स्रोत उद्धृत गरेर आएका समाचारसँगै मानिसहरुले राससको समाचारको खोजी शुरुगरिहाल्छन् । यस्ता आशङ्का या उच्च स्रोतको हवला दिइएका समाचारले एकै घण्टामा मिडिया र सोसियल मिडियाको बजार तताइसकेको हुन्छ, त्यही समाचार सरकारी अधिकारीलाई पुष्टि गरेर एक घण्टामात्र पछिदिँदा पनि हामी ‘पछि परेको’ अर्थ लागिहाल्छ । यी राससका सामु प्रविधिले थपिदिएका चुनौती हुन् । यस्तो अवस्थामा आफू पर्दापछाडि बसेर, देशका हजारौँ मिडियामार्फत राज्यका सूचनाहरु सम्प्रेषण गरी आमनागरिकलाई सूचना प्रदान गर्नुपर्ने दायित्व रासससमक्ष अहिले पनि उस्तै नै छ । नेपाली समाचार सेवाबाट शुरुगरेको राससले २०२० देखि नै अङ्ग्रेजी भाषामा पनि समाचार सेवा शुरु गरेको हो । राससले हाल अन्य मातृभाषाहरुमा पनि समाचार सेवा प्रदान गरिरहेको छ । राससको मूल सेवाभने नेपाली र अंग्रेजी भाषामै छ । यसका अतिरिक्त आलेख, अन्तरराष्ट्रिय समाचार, नेपाली तथा अन्तरराष्ट्रिय तस्बिर, श्रव्यदृश्य सेवा राससले उपलब्ध गराउँदै आएको छ । राससले २४ सै घन्टा समाचार सेवा प्रदान गर्दैआएको छ । रासस