काठमाडौं, ८ जेठ । आज एमालेको सचिवालय बैठक बस्दैछभने बैठकले नेताहरुको जिम्मेवारी तोक्ने बताइएको छ । बैठक पार्टीका अध्यक्ष केपी ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ः०० बजे बस्ने सो पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभएको छ । गत मंसिरमा सम्पन्न पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुनसकेको थिएन ।
यसअघि गत सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरुको वरीयतासम्बन्धी नयाँ प्रस्ताव पेश गरिएको थियो । प्रस्तावित नयाँ वरीयताअनुसार अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयता अर्थात् पहिलो उपाध्यक्षमा रामबहादुर थापा चयन हुनुभएको छ । थापापछिको उपाध्यक्षहरुको वरीयतामा क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्त रहनुभएको छ । पार्टीको कार्यकारी पद महासचिवमा भने शंकर पोखरेल रहनुभएको छ । त्यसैगरी तीनजना उपमहासचिवहरुको वरीयतामा लेखराज भट्ट पहिलो, रघुबीर महासेठ दोस्रो र योगेश भट्टराई तेस्रो स्थानमा समेटिनुभएको छ ।
नौजना सचिवको वरीयतामा छविलाल विश्वकर्मा पहिलो स्थानमा रहनुभएको छ । त्यसपछि पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई र हिक्मत कार्की र महेश बस्नेत रहनुभएको छ । उपरोक्त प्रस्तावित वरीयतालाई आजको बैठकले औपचारिकरुपमा अनुमोदनगर्ने भनिएको छ ।