काठमाडौं, ७ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्नगर्न सरकारले सम्पूर्ण शक्ति लगाएको खुलाशा गर्नुभएको छ । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधनगर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले ०१५ सालको फागुन ७ गतेदेखि शुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरणगर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गर्नुभएको थियो ।

स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।

अभिवादन ।

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको यस अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार, स्वतन्त्रता, सुशासन र समतामूलक विकाससहितको प्रजातन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान् दिन थियो । आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग पनि २००७ सालको राजनीतिक क्रान्ति नै हो । तसर्थ त्यस दिनको सम्झनामा आज उत्सव मनाउन हामी यहाँ उपस्थित भएका छौँ ।

प्रजातन्त्र दिवस मनाइरहँदा हामीले आत्मसमीक्षा गर्नैपर्छ कि— किन २००७ को उपलब्धि २०१७ मा खोसियो?

किन २०३६, २०४६, २०६२/६३ र फेरि २०८२ मा पनि जनता सडकमा उत्रिनुपर्‍यो ?

किन यसपटक कलिला जेनजी युवाहरूले पनि गोलीको पर्वाह नगरी आवाज उठाउनुपर्‍यो ?

उत्तर स्पष्ट छ— हामीले लोकतन्त्रको नारा भट्यायौँ, संविधानमा अक्षरका सुन्दर बान्की सजायौँ तर त्यसको लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गरेनौँ, गर्नै चाहेनौँ ।

सिद्धान्तमा लोकतन्त्र आयो तर व्यवहारमा विभेदलाई नै प्रश्रय दिइरह्यौँ । संविधानमा समानता लेख्यौँ तर संरचनामा असमानतालाई नै जोगाइरह्यौँ ।

एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत–साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य हुनै सकेन ।

यस्ता अपसंस्कृतिले राज्यप्रति विश्वास हराउँछ र विद्रोह जन्माउँछ । यहाँ त्यही भयो ।

बजेट वितरणमा भएको मनोमानीलाई सम्झिऊँ । समानुपातिक निर्वाचन प्रणालीबाट प्राथमिकतासाथ लाभ पाएकाहरूको सूची केलाऊँ । छात्रवृत्ति र रोजगारीमा गरिएको काखापाखा हेरौँ । अनि यहाँ विद्रोह नभएर के हुन्छ?

जहाँ भुइँमान्छे उपेक्षित छ, सीमान्त नागरिक अपमानित छन् र सत्ताको स्वादमा बिलासी जीवन बिताइरहनेको हैकम चलिरहन्छ, त्यहाँ लोकतन्त्रको आत्मा सुक्दै जान्छ । अझ भन्दा सीमान्तकृत, पहुँचहीन र वञ्चित समुदायमाथि अन्याय, विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन सक्दै सक्दैन ।

भदौ २३ र २४ मा जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन जनताका गुनासा सुन्न असफल संरचनामाथिको प्रश्न थियो । उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोजेको हो । सुशासन र समन्याय खोजेको हो । यसप्रति राज्य उदार मात्र होइन, विनयशील र कर्तव्यनिष्ठ पनि हुनुपर्दछ ।

सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्छ । यही संस्कार विकास गर्नु आजको आवश्यकता हो ।

प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनु हुँदैन । अब त खासमा यो एउटा जीवनशैली हो । यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ ।

दुई छाक टार्नकै लागि सन्तानको लाडप्यारको माया मारेर खाडीको गर्मीमा वर्षौँ बिताउने बाबुआमालाई प्रजातन्त्रको कुनै आदर्श कुराले छुन सक्दैन । बिरामी भएर अस्पतालको बिल तिर्न नसक्दा, पैसाकै कारण राम्रो शिक्षादीक्षा दिन नसक्दा त्यहाँ केको तन्त्र, केको वाद ?

यी र यस्तै मसिना कुरासँग हामीले ल्याएको व्यवस्थाको औचित्य दाँजेर हेर्न ढिला भइसकेको छ । त्यसैले प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ ।

म स्पष्ट रूपमा भन्न चाहन्छु— युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन । त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।

लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र पनि होइन । लोकतन्त्रले नतिजा दिनुपर्छ । विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो ।

भदौ २३ र २४ का घटनापश्चात् बनेको यस सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको छ । सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा हाम्रा प्रयासहरू अभिमुख छन् ।

यद्यपि, असामान्य अवस्थालाई सामान्यीकरण गर्दै मुलुकमा शान्ति सुव्यवस्था बहाली गर्नु र छोटो समयमा निर्वाचनको समेत सबल वातावरण बनाउनुपर्ने यस सरकारको प्राथमिक कार्यादेश रहेको पनि यहाँहरूलाई विदितै छ ।

हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो । ठुलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरू खाली हुनुको प्रमुख कारण पनि यही नै हो भन्ने निष्कर्षमा म पुगेकी छु ।

तर जवाफदेहिताको आवाज बुलन्द गर्ने युवाको पलायनबाट कसैले राहत महसुस नगरे हुन्छ । प्रत्येक शासकले ख्याल राखुन्- हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान, विभेद र तिरस्कार सहन तयार छैनन् । भोलि आउने शासकहरूले युवालाई अपमान र तिरस्कार गरिरहे भने फेरि पनि विद्रोह हुने छ ।

नेपालको निर्वाचन इतिहासमा विसं २०१५ साल फागुन ७ गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुरुवात भएको ऐतिहासिक तथ्य हामीमाझ छ । तसर्थ आज प्रजातन्त्र दिवस मात्र होइन, निर्वाचन दिवस पनि हो ।

संयोगवश यस वर्ष पनि यसै फागुन महिनाको २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौँ ।

तोकिएकै मितिमा र भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ । यस निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु ।

अन्त्यमा, यस दिवसले हामीलाई संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् । हाम्रो राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बनोस् ।

लोकतन्त्रका लागि जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

बुद्धिजीवी, नागरिक समाज, जेन-जी युवा र सम्पूर्ण प्रजातन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दछु ।

विभिन्न आन्दोलनका ती वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी सबै एकजुट हुन अपिल पनि गर्दछु ।

धन्यवाद ।

२०८२ फागुन ७

काठमाडौँ