काठमाडौं,१२ फागुन । दलहरुको ट्रेड यूनियन खारेजीको प्रस्तावको बिरोध भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समितिले आसन्न निर्वाचनका सन्दर्भमा जारी कतिपय दलको वाचापत्र (घोषणापत्र)मा ट्रेड यूनियन खारेजीगर्ने प्रस्तावप्रति बिरोध जनाएको हो । ०७२ को संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड यूनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको उल्लेखगर्दै सो संगठनका अध्यक्ष हंशबहादुर शाहीले आज प्रेस विज्ञप्ति जारी गरेर ट्रेड यूनियनहरु स्वतन्त्र, पेसागत र गैरदलीय प्रकृतिका संस्थाहरु भएको बताउनुभएको थियो । नेपालले अनुमोदन गरेको अन्तरराष्ट्रिय श्रम संगठनको अभिसन्धिले श्रमिकहरुलाई संगठन स्थापनागर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकारको संरक्षणगर्न राज्यलाई बाध्यकारी बनाएको स्मरण गराउँदै उहाँले ट्रेड यूनियन खारेजी वा त्यसको स्वतन्त्रतामाथि अंकुश लगाउने परिकल्पनागर्ने कुनै पनि राजनीतिक दल प्रजातान्त्रिक हुनै नसक्ने बताउनुभएको छ ।

विज्ञप्तिमा यो नेपालको संविधान, कानून तथा नेपालले अनुमोदन गरेका अन्तरराष्ट्रिय महासन्धिविपरीतको कार्यसमेत हो । यो परिकल्पनागर्ने दलको राजनैतिक चरित्र लोकतान्त्रिक होभनी मान्न सकिँदैन । ट्रेड यूनियन खोल्ने र सामूहिक सौदाबाजीगर्ने अधिकार संविधानद्वारा प्रदत्त मौलिक अधिकार हो । यसमाथि नियन्त्रणगरी खारेजीगर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि लोकतान्त्रिक मूल्यमान्यता, संवैधानिक व्यवस्था तथा अन्तरराष्ट्रिय श्रम मापदण्डविरुद्धका कदम हुन् भनिएको छ ।