काठमाडौं १६ फागुन । आगामी निर्वाचनलाई मौसमले पनि साथ दिने दाबि गरिएको छ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने देखिएको जनाएको छ । हिजो साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारीगर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा आसन्न निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने जनाएको हो । यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एक, दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मुख्यतया सफा रहने जनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भएर बादल लागे खास वर्षा र हिमपात हुने सम्भावना नदेखिएको विशेष मौसम बुलेटिनमा उल्लेख छ । सबै प्रदेशका तराई क्षेत्रमाभने सफा रहने जनाइएको छ । तर पनि नियमित अनुगमन र अद्यावधिकगर्दै जाने भएकाले दैनिक अद्यावधिक सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ ।