
काठमाडौं, १८ फागुन । आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रेस काउन्सिल नेपालले मौन अवधि र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अनलाइन पत्रकार संघको संयोजनमा भएको उक्त अन्तरक्रियामा निर्वाचनको मौन अवधिमा सञ्चारमाध्यमले के गर्न हुने ? के गर्न नहुने ? एवं सञ्चारमाध्यमको भूमिका कस्तो रहने ? भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले मतदातालाई अवाञ्छित तरिकाले प्रभावित पार्नेगरी कुनै पनि सामग्री तथा संकेत विषयवस्तु सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको थियो । उहाँले मतदातालाई अवाञ्छित तवरबाट प्रभावित पार्नेगरी संकेत, चिन्ह, विवरण अथवा त्यस्ता सामग्री प्रकाशन÷प्रसारण गर्नुहुँदैन, ती कुराको परिपालना राजनीतिक दलमात्रै होइन, अरुले पनि गर्नुपर्छ भन्नुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि निर्वाचनको शुन्य समय भएकाले राष्ट्रपतिबाट निर्वाचनको घोषणा भएबाट नै सञ्चारजगतले सकारात्मक भूमिका खेलेको बताउनुभएको थियो । उहाँले पछिल्लो समय झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको उल्लेखगर्दै आयोगले सञ्चार जगतबाट गलत प्रचार रोक्ने भूमिकाको अपेक्षा गरेको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त भण्डारीले मौन अवधिपूर्व सम्प्रेषण भएका दलपक्षीय सामग्री एवं प्रचारात्मक सामग्री सेयर हुनेतर्फ सचेत गराउनुभयो । उहाँले मौन अवधि अगाडि आचारसंहिता लागू भइसकेपछि दल र दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि विविध प्रकारका साम्रगी आए, अब मौन अवधि सुरु भएपछि दलका घोषणापत्र नीति तथा कार्यक्रम आदिको घनिभूत रुपमा छलफल गरेर सम्पूर्ण विश्लेषणगर्ने दायित्व छ भन्नुभएको थियो । प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाता शिक्षा र निर्वाचन आयोगका सामग्री सम्प्रेषणमा जोडदिन आग्रह गर्नुभएको थियो । काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले मौन अवधि झन् संवेदनशील समय भएकाले सञ्चारमाध्यमको दायित्व स्वतः बढ्ने हुनाले समाचार सम्प्रेषणमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका सदस्य निर्मला शर्माले निर्वाचनको पूर्वसन्ध्यामा डिजिटल प्लेटफर्ममार्फत पर्नसक्ने भूराजनीतिक असरका विषयमा पनि सञ्चारमाध्यम सजग रहनुपर्ने बताउनुभयो । कार्यपत्र प्रस्तुतगर्दै वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण भण्डारीले मौन अवधिको आचारसंहिता पूर्णपालना हुनैपर्ने जिकिर गर्नुभयो ।
निवार्चन अघि र मतदान अवधिमा मतदाता प्रभावित पार्ने सामग्री सञ्चारमाध्यमले सम्प्रेषणगर्दा त्यसको असर गुणात्मक रुपमा बढ्ने उहाँको भनाइ थियो । उहाँले निर्वाचनको पूर्वसन्ध्यामा कसैको पक्ष र विपक्षका सामग्री देख्दा मतदाताको स्वभाव र शैलीमा तत्काल असर गर्ने बताउनुभयो । विश्वका कतिपय मुलुकले नेपालको निर्वाचन पद्धतिबाट सिको गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पत्रकार बैरागी जेठा, चुडामणि कोइराला, केपी ढुंगाना, धनबहादुर मगर, पवित्रा सुनार, भीम आत्रेय, सुशन धमला, नवराज चालिसे, अनुपराज ढुंगेल र राजिव तिमिल्सेना, बिद्यार्थी अन्जना शाही शर्मा, प्रकाश कपाली लगायतले जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिँदै प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले निर्वाचनका बेला पत्रकार आकर्षित हुने सम्पूर्ण विषय काउन्सिलले आफ्नो दायित्व कर्तव्यअनुसार गरिरहेको बताउनु भएको थियो । उहाँले पत्रकार र सञ्चारमाध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत काउन्सिलले नै गरिरहेको बताउँदै २४ सै घण्टा स्वअनुगमन, उजुरी प्रणाली र हटलाइन नम्बर सक्रिय बनाइ काउन्सिलले अनुगमन गरिरहेको बताउनुभएको थियो ।
सहभागीलाई स्वागत गर्दै नेपाल प्रेस काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले संवैधानिक संकटका बेला घोषित निर्वाचनले लोकतन्त्रको रक्षागर्ने र यस्तो निर्वाचन पूर्णसफल बनाउन सञ्चारमाध्यमको सबैभन्दा महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रको सहजीकरण मुख्य अधिकृत झविन्द्र भुसालले गर्नुभएको थियो भने दोस्रो सत्रको सहजीकरण सदस्य शन्तराम बिडारीले गर्नुभएको थियो । सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव छविन्द्र पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । दोस्रो सत्रको समापन अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले गर्नुभएको थियो ।