काठमाडौं, २९ फागुन । आज पशुपति आर्यघाटमा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ । ओलीका पिता ओलीको ९७ वर्षको उमेरमा भक्तपुरको ठिमी चार दोबाटोस्थित नेपाल कोरियामैत्री अस्पतालमा उपचारकाक्रममा आज बिहान निधन भएको थियो । पिता ओलीको पार्थिव शरीरमा ज्येष्ठ पुत्र अध्यक्ष ओलीले दागबत्ती दिनुभयो । दिवंगत पिता ओलीप्रति श्रद्धाञ्जलि दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेता अर्जुननरसिंह केसी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी अवज्ञा पौडेल, एमालेका उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्णराज विष्ट, महासचिव शंकर पोखरेल, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपा (संयुक्त) का नेता घनश्याम भुसाल, एमालेका विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यसअघि एमालेका अध्यक्ष केपी ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
पितालाई श्रद्धाञ्जली अर्पणगर्न अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नुभएको थियो । अस्पताल प्राङ्गणमा एमालेका सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायत केन्द्रीय नेता तथा स्थानीय नेता कार्यकर्ताले मोहनप्रसादलाई श्रद्धाञ्जली दिनुभएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा डि के रौशनकाअनुसार मोहनप्रसादलाई आज बिहान करिब ४ः०० बजे उपचारका लागि अस्पताल ल्याइएको थियो । विगत छमहिनादेखि उहाँको सोही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो । ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी हुनुहुन्छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि दिनुभएको छ । सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जलिदिँदै अध्यक्ष ओलीका पिता ओलीको निधनले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै दुःखद घडीमा दिवंगत पिताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पणगर्दै शोकसन्तप्त परिवारमा धैर्यधारणगर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि केपी ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताउनुभयो । उहाँले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।