बेइजिङ,९ चैत । विश्वव्यापी व्यापारमा बढ्दो तनाव र संरक्षणवादी नीतिहरुबीच चीनले आफूलाई खुला अर्थतन्त्रको पक्षधरका रुपमा प्रस्तुतगर्दै अन्तर्राष्ट्रिय ‘व्यापार पाइ’ विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । चिनियाँ प्रधानमन्त्री ली किआङले बेइजिङमा हिजो आइतबार आयोजित एक उच्चस्तरीय मञ्चमा यस्तो धारणा राख्नुभएको हो । चीनको दोस्रो वरीयताका नेतासमेत रहेका उहाँले देशले उच्चस्तरीय खुलापनलाई निरन्तर अगाडि बढाउने, गुणस्तरीय विदेशी वस्तुहरुको आयात विस्तारगर्ने तथा सन्तुलित र समन्वित व्यापार वृद्धिका लागि अन्य देशहरुसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले विश्व अर्थतन्त्रलाई समग्र रुपमा ठूलो बनाउने दिशामा चीन तयार रहेको पनि स्पष्ट पार्नुभयो । ली किआङले वार्षिक चाइना डेभलपमेन्ट फोरमको उद्घाटन सत्रमा बोल्दै बढ्दो एकपक्षीयता र संरक्षणवादप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँका अनुसार यस्ता प्रवृत्तिहरुले विश्व व्यापारका चुनौतीहरु समाधान गर्ने प्रभावकारी माध्यम प्रदान गर्न सक्दैनन् र बरु जटिलता थप्छन् । उक्त मञ्चमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकसहित विश्वका प्रमुख बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । यसले चीनसँगको आर्थिक सहकार्यप्रति अन्तर्राष्ट्रिय चासो कायमै रहेको सङ्केत गर्दछ । चीनका प्रमुख व्यापारिक साझेदारहरुले पछिल्लो समय बेइजिङमाथि व्यापार अधिशेष घटाउन दबाब दिइरहेका छन् । यद्यपि, यस वर्षको पहिलो दुई महिनामा चीनको व्यापार झन्डै पाँचौँ भागले वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाएको छ, जसले पूर्वानुमानलाई समेत उछिनेको छ । कोभिड–१९ महामारीपछि कमजोर बनेको आन्तरिक अर्थतन्त्रलाई पुनः सन्तुलनमा ल्याउने प्रयासमा रहेको चीनले विशेषगरी घरेलु उपभोग वृद्धिगर्न ध्यान केन्द्रित गरेको छ । यद्यपि, उपभोक्ता गतिविधिमा सुस्तता कायम रहेकाले निर्यात वृद्धिले अर्थतन्त्रलाई केही राहत दिएको छ । यसैबीच, अमेरिकासँगको व्यापारिक तनाव अझै कायम छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहितका देशहरुमा कर लगाउने नीति अघि बढाएपछि गत वर्ष दुई देशबीच व्यापार युद्ध चर्किएको थियो, जसको प्रभाव अझै विश्व अर्थतन्त्रमा देखिन्छ । मध्यपूर्वमा इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि उत्पन्न द्वन्दले पनि विश्व व्यापार र ऊर्जा सुरक्षामा असर पारिरहेको छ । विशेषगरी तेल आपूर्तिमा निर्भर चीनका लागि यो अवस्था थप संवेदनशील बनेको छ । ली किआङले अन्तर्राष्ट्रिय नियममा आधारित व्यापार प्रणाली अहिले शक्तिको राजनीति र अस्थिरताबाट प्रभावित भइरहेको उल्लेखगर्दै यसलाई सुदृढ बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
यसअघि गत शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले एचएसबिसी, युबिएस, स्नाइडर इलेक्ट्रिक र स्ट्यान्डर्ड चार्टर्डजस्ता बहुराष्ट्रिय कम्पनीका वरिष्ठ प्रतिनिधिहरुसँग भेटवार्तागर्दै आर्थिक सहकार्यका विषयमा छलफल गर्नुभएको थियो । रासस, एएफपी