काठमाडौं,१६ चैत । राष्ट्रिय जनमोर्चाले गबरजस्त गिरफ्तारीले देश फाँसीवादतिर जाने खतरा देखिएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले जारी गर्नुभएको एक बक्तब्यमा उपरोक्त कुरा उल्लेख छ । उहाँले बक्तब्यमा सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेको कार्यप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । बक्तब्यमा भदौ २३ गतेको हत्याकाण्डका लागि ओली सरकार जिम्मेवार थियो ।
त्यसकारण त्यो हत्याकाण्डका दोषी व्यक्तिमाथि कारबाही आवश्यक भएको कुरा पहिले पनि हामीले त्यो मतलाई सार्वजनिकगर्दै आएका छौँ तर त्यसका साथै राष्ट्रिय जनमोर्चाको यो पनि स्पष्ट दृष्टिकोण छ कि कसैमाथिको कुनै पनि कारबाही गर्दा कानूनको प्रक्रिया पूरागरेर निष्पक्ष र न्यायोचित प्रकारले नै हुनुपर्दछ तर अहिले ओलीसमेतलाई गरेको गिरफ्तारी कानूनको प्रक्रिया पूरा गरेर निष्पक्ष र न्यायोचित प्रकारले गरिएको देखिँदैन ।
स्वेच्छाचारी प्रकारले कसैलाई गिरफ्तारगर्न थालियोभने देश फासिवादतिर जाने सम्भावना रहनेछ । त्यसैले ओलीसमेतको गिरफ्तारीप्रति अपनाइएको स्वेच्छाचारी तथा अधिनायकवादी तरिकाको हामीले कडा शब्दमा विरोध गर्दछौँ भनिएको छ । बक्तब्यको अन्त्यमा भदौ २३ गतेको गोलीकाण्डको अझै पनि उच्चस्तरमा छानबिन गर्नुपर्ने र दोषीमाथि न्यायोचित कारबाही गरिनुपर्दछ । २३ गते जेनजीको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मकरुप दिन उक्साउने अवाञ्छित तत्त्व र २४ गतेको तोडफोड, आगलागी र ध्वंसात्मक कार्यसमेतमाथि उच्चस्तरीय र निष्पक्ष छानबिन गरिनुपर्दछ ।
सर्वाेच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा त्यस प्रकारको आयोग गठन गरेर छानबिन गर्नुपर्दछ । त्यो नै अहिलेका लागि उपयुक्त विधि हुनेछ भन्ने मत हामीले प्रकट गर्दछौँ भनिएको छ ।