काठमाडौं,१६ चैत । एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंले उहाँहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धानगर्न हिजो अनुमति दिएको हो । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभएको थियो । आदेशमा प्रस्तुत मुद्दामा प्रतिवादीहरुको बयान गर्न, बुझ्नुपर्ने मानिसहरुको घटना विवरण कागजगर्न तथा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग ऐन–०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्नेलगायतको प्रयोजनका लागि प्रतिवादीहरुलाई प्रहरी हिरासतमा राख अनुमति माग गरेको देखिन्छ ।

अनुमति माग गरेको व्यहोरा मनासिव देखिँदा प्रतिवादीहरु केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिएबमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा १४ (६) बमोजिम ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ भनिएको छ । आदेशमा एमाले अध्यक्ष ओली अस्वस्थभई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्थागर्न भनिएको छ ।

सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री हुनुहुन्थ्यो । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझगर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर गत शनिबार बिहान पक्राउ गरिएको थियो ।