काठमाडौं,१६ चैत । आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि ११७ गणकले कामगर्ने जानकारी दिइएको थियो । कार्यालयका प्र्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिनुभयो । उहाँले असार ७ गतेसम्म जिल्लाका सातै पालिकामा स्थानीय गणकहरु नियुक्ति गरिसक्ने र त्यसरी खटिने गणकलाई आफ्नो सही सूचना प्रवाहगर्न आग्रह गर्नुभयो । अठारवटा उद्योग समूहका आर्थिक एकाइहरुलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली तयार गरिएको घिमिरेले जानकारी दिनुभएको थियो ।

आर्थिक गणना–०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेको पाइएका छन्, जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता नभएको पाइएको छ । कार्यालयका प्र्रमुख घिमिरेले जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषहरुको स्वामित्वमा रहेका र ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको जानकारी दिनुभयो । गणनाका क्रममा कृषि क्षेत्रका केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिने छ । आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापनगर्न सहज बनाउने विश्वास गरिएको छ । रासस