काठमाडौं,१३ चैत । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष ०८१÷८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३० करोड मुनाफा वितरण गरेको छ । त्यसमा कोषका सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख मुनाफा जम्मागरिएको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले दिनुभयो । कोषका सञ्चालक समितिको गत फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष ०८१÷८२ को वित्तीय विवरण स्वीकृतगर्दै सञ्चयकर्ता तथा योगदानकर्ताको व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १.०० प्रतिशतका दरले हुने रकम मुनाफाका रुपमा वितरणगर्ने निर्णय गरेबमोजिमको मुनाफा रकम सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा जम्मा गरिएको हो । कोषले प्रत्येक आबमा आर्जन गरेको कूल मुनाफाको करिब ९० प्रतिशत रकम मुनाफाका रुपमा सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खातामा जम्मागर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने गर्दछ । यस्ता कल्याणकारी कोषमा रहेको रकम आबश्यकताअनुसार सञ्चयकर्ता र योगदानकर्ताको हितमा खर्च हुने गर्दछ ।

यसैगरी, कोषले चालु आबमा सञ्चयकर्ता तथा योगदानकर्तालाई सञ्चित रकममा ४.२५ प्रतिशतका दरले ब्याज प्रदान गरेको छभने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताले कोषबाट ५.७५ प्रतिशत ब्याजमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् कोषले सञ्चयकर्ता तथा योगदानकर्ताको सेवाकालको आबश्यकता परिपूर्तिगर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ता र योगदानकर्ताले छुट्टै योगदानगर्नु नपर्नेगरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता तथा योगदानकर्ता दम्पतीलाई स्वास्थ्योपचार सोधभर्ना सुविधाका साथै काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायत सामाजिक सुविधा प्रदानगर्दै आएको छ । सामाजिक सुविधाअन्तर्गत गत आब ०८१÷८२ मा सुत्केरी तथा शिशु स्याहार सुविधाबापत १९ हजार १११ जना सञ्चयकर्ता र योगदानकर्तालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानबापत ६०५ जनालाई करिब दुई करोड ४२ लाख, दुर्घटना क्षतिपूर्तिबापत १७० जनालाई करिब तीन करोड ३९ लाख, स्वास्थ्योपचार सोध भर्नाबापत पाँचहजार ३५५ जनालाई ३४ करोड र विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका १७२ जना सञ्चयकर्तालाई करिब एककरोड ७३ लाख प्रदान गरिएको छ । हाल कर्मचारी सञ्चय कोषमा पाँ लाख ७८ हजारको संख्यामा सञ्चयकर्ता र ९६ हजारको संख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् । रासस