काठमाडौं, १४ चैत । हिजो साँझबाट रातिसम्म भएको वर्षात्का कारण बिपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । साँझ ६ बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोककाअनुसार बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटारमा कतै लेदोसहितको पहिरो तथा बाढी (खहरेखोलामा पानीको बहाब उच्च रहेको) ले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँेजुले सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताउनुभएको छ ।

उहाँकाअनुसार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठीनाइ भइरहेको छ । गतवर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले हिजो साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ । उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मंगलटारमा सवारीसाधन होल्ड गराइएको धाँेजुले बताउनुभउको छ । यसअघि गत सातगते बिहान सोही गाउँपालिकाको चारसयबेंसी, गिम्दी, दाउन्ने र कालढुंगामा खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव बढ्दा सडकखण्ड छ घण्टा अवरुद्ध भएको थियो । पानीको बहाव घटेपछि मात्रै पुनःनिर्माण गरी सडकलाई सञ्चालनमा ल्याइएको थियो । रासस