काठमाडौं १५ चैत । आज एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि केपी ओली र नेपाली कांग्रेसका नेता तथा पूर्ब गृहमन्त्रि रमेश लेखकको रिहाईको मागगर्दै देशव्यापी प्रदर्शन हुँदैछभने सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट पनि दायर हुँदै छ । बर्तमान सरकारले छानविन आयोजको प्रतिवेदनको हवाला दिँदै ज्यान मुद्धामा छानविनका लागिभन्दै हिजो शनिबार ओली र लेखकलाई पक्राउ गरेकोमा प्रक्रियागत त्रुटी भएपछि सरकारसमेत अप्ठेरोमा परेको छ । उहाँहरु दुबैलाई आज प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ । उहाँहरु आज रिहा हुने प्रबल संभावना रहेको कानूनबिदहरुको भनाई छ । आज पनि एमालेका जनसंगठनहरुले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।

आज ७७ वटै जिल्लामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको एमालेले जनाएको छ । हिजो शनिबार बसेको एमालेको आकस्मिक सचिवालय बैठकले अध्यक्ष ओलीको रिहाइका लागि कानूनी तथा राजनीतिकरुपमा प्रतिवादगर्ने निर्णय गरेको थियो । सोहीअनुसार एमालेका जनसंगठनहरुले हिजै काठमाडौंसहित विभिन्न जिल्ला, देशका प्रमुख सहरहरुमा विरोध प्रदर्शन गरेका थिए ।

एमालेले अध्यक्ष ओली र नेता लेखकको पक्राउलाई नियोजित तथा निर्देशित कदमभन्दै त्यसको विरोधमा लोकतन्त्र, कानूनी शासन र मानवअधिकारको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग संयुक्त तथा प्रभावकारी पहलका लागि आह्वानसमेत गरेको छ । एमालेको हिजोको बैठकले आज चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरुको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तयगरेको थियो ।