काठमाडौं, २२ चैत । पश्चिम एसियाको द्वन्दका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमापरी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् । सो आक्रमणमा परेर सात जना नेपाली घाइते भएका जनाइएको छ । घाइते नेपाली नागरिक सबै खतरामुक्त रहनुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । राजदूतावासका अधिकारीले गम्भीर घाइतेसहित सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उहाँहरुले खतरामुक्त रहेको जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । घाइतेमध्येका चारजनालाई दूतावासका अधिकारीहरुले आजै भेट गरी उहाँहरुको अवस्थाका बारेमा बुझ्नुभएको र आवश्यक सहयोगका लागि समन्वयगर्ने उल्लेख गर्नुभएको थियो ।

बाँकी तीन जनासँग पनि छिट्टै भेटगरी आवश्यक जानकारी लिइने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभएको छ । प्रवक्ता क्षेत्रीकाअनुसार छ जना सामान्य उपचारपछि हाल अस्पतालबाट फर्किसक्नुभएको र गम्भीर चोटलागेको भनिएका थप एकजना नेपालीको पनि हाल उपचार जारी रहेको तथा उहाँ पनि खतरामुक्त रहनुभएको छ । आफू छिट्टै अस्पतालबाट डिस्चार्ज हुने उहाँले टेलिफोनमा बताउनुभएको छ । यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयबाट दूतावासलाई निर्देशन दिइएको थियो । युएईका सम्बन्धित निकायहरुबाट समयमै उहाँहरुलाई उचित उपचारको प्रबन्ध गरिएको थियो । राजदूतावासले उहाँहरुलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको जनाएको छ । रासस