
काठमाडौं, २२ चैत । अमेरिकी दूताबासद्वारा सञ्चालित युथ काउन्सिल खारेज हुनुपर्ने माग भएको छ । राष्ट्रिय जनमोर्चाले चुनावको मूल्यांकन र परराष्ट्रनीतिबारे हिजो काठमाडौंको बागबजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपरोक्त कुरा ब्यक्त भएको हो । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको कार्यपत्र प्रस्तुतिसँगै सो कार्यक्रम सम्पन्न भएको थियो । राजमोका कावा अध्यक्ष रश्मिराज नेपालीको अध्यक्षता तथा महासचिव मनोज भट्टको सञ्चालनमा भएको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा नै चुनावको मूल्यांकन र नेपालको परराष्ट्रनीतिका बिचको सम्बन्ध विषयक अवधारणापत्र प्र्रस्तुत गरिएको थियो । सो कार्यपत्रमाथि विचार राख्ने क्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले काठमाडौंस्थित अमेरिकी दूताबासद्वारा सञ्चालित युथ काउन्सिल खारेज हुनुपर्ने माग गर्नुभएको थियो ।
उहाँले अमेरिका नेपालीले कुनै संगठन खोल्नुप¥योभने त्यहाँ संस्था दर्ता गर्नुपर्दछ । यहाँ भने अमेरिकी दूताबासले युथ काउन्सिल खोलेर आफ्ना साम्राज्यवादी स्वार्थको पक्षमा कथित नेतृत्व विकासको तालिम दिइरहेको छ भन्नुभएको थियो । त्यसैगरी नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपालले ०७२ सालको संविधानमार्फत असंलग्न परराष्ट्रनीति अँगालेको बताउनु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सीताराम तामाङले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभएको थियो । फागुन २१ गतेको चुनावपछि देशको राष्ट्रिय स्वाधीनता बचाउन बेग्लै मोर्चा आवश्यक रहेको उहाँको तर्क थियो । उहाँले अब हामी सबै मिलेर देशभक्त जनताको तर्फबाट राष्ट्रिय मोर्चा बनाउनुपर्दछ भन्नुभएको थियो । त्यसैगरी एमालेका नेता डा. राजन भट्टराईले परराष्ट्रनीतिको सन्दर्भमा भूराजनीतिक संवेदनशीलताको ख्याल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । पूर्व परराष्ट्रमन्त्री हिरण्यलाल श्रेष्ठले यदि नेपालले एसपिपी लागु गर्दछभने त्यससँगै खम्पा विद्रोहजस्तो घटना दोहोरिन सक्ने बताउनुभएको थियो । अमेरिकाले चीनको विरुद्ध खम्पा विद्रोह प्रायोजित गरेको बताउँदै उहाँले अहिले एसपिपीसँगै त्यो खतरा पुनः दोहोरिएको दाबि गर्नुभएको थियो ।
त्यसैगरी वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नेपाललाई युक्रेनजस्तै बनाउने प्रयत्न भइरहेको बताउनुभएको थियो । अष्ट्रेलियाका पूर्व राजदूत अजय शर्माले चीनको विरुद्ध अमेरिकी प्रभाव विस्तारगर्ने अमेरिकी प्रयासमा अहिले नेपाल पनि परेको बताउनुभएको थियो । परराष्ट्र मामिलाका जानकार विन्देश दाहालले अमेरिकी जासुसी संस्था सिआइएले नेपालमा बुढापुराना विरोधी भाष्य खडा गरेको खुलाशा गर्नुभएको थियो ।