काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउनुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको उद्घाटनगर्दै उहाँले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिकारुपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताउनुभएको थियो । डा कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का बनाउने पक्षमा रहेको जिकिर गर्नुभएको थियो । उहाँले मलाई सामाजिक सञ्जालमा यो वा त्यो पक्षको भनेर प्रचार गरेको सुनेको छु, तर म पार्टीको कुनै समूहमा छैन ।

मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने हो, त्यसका लागि म अन्तिमसम्म प्रयास गर्छु भन्नुभयो । नेता डा कोइरालाले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले पार्टी नछोडी मत मात्रै फेरेकोभन्दै आगामी दिनमा त्यो भोटलाई ‘सिफ्ट’ हुन नदिने गरी क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक हावाहुरीलाई बुझ्न नसक्नु मुख्य कारण भएको उल्लेख गर्नुभएको थियो ।

बिपी स्मृति अस्पतालका संस्थापक अध्यक्षसमेत रहनुभएका डा कोइरालाले बिपी कोइरालाको नाममा खोलिएको यस अस्पताललाई प्रभावकारीरुपमा सञ्चालनगर्न त्यहाँबाट अवकाश पाएका चिकित्सकहरुले विशेष योगदान दिनसक्ने बताउनुभएको थियो ।