काठमाडौं, २४ चैत । कोशी प्रदेश भ्रमण वर्ष–०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव भोली चैत २५ गतेदेखि २७ गतेसम्म हुने वराहक्षेत्र–ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यकारुपमा प्रवद्र्धन गर्नुकासाथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला संस्कृतिको संरक्षणगर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष अंगत राईले जानकारी दिनुभएको थियो । महोत्सवमा मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिनुकासाथै कार्यक्रम अवधिभर कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चरा अवलोकन, रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकन गराइने कार्यक्रम रहेको सहसंयोजक भविश श्रेष्ठले बताउनुभयो ।
साँझको समयमा लाखे नाच र धान नाच प्रस्तुत गरिनेछ । महोत्सवको अन्तिम दिन चैत २७ गते आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ । त्यसपछि बोराबाँधसम्म ¥याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदलगायत गतिविधि सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवमा नेपालका विभिन्न स्थान, भारतसहित तेस्रो मुलुकका पर्यटक तथा विशिष्ट अतिथिको सहभागिता रहनेछ । आगन्तुकहरुका लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था गर्नै आयोजकले जनाएको छ ।