काठमाडौं, २४ चैत । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य तथा राजनीतिक बन्दी प्रशान्त बोसको निधन भएको थाहा भएको छ । उहाँलाई किशन दाभनेर पनि चिनिन्थ्यो । लामो समयदेखि बिरामी परेपछि गत शुक्रबार राँची जिल्लास्थित राजेन्द्र आयुर्विज्ञान संस्थानमा ८५ वर्षको उमेरमा उहाँको निधन भएको त्यहाँको प्रहरीलाई उद्धृतगर्दै भारतीय सञ्चार संस्थाहरुले जनाएका छन् । राँचीका वरिष्ठ प्रहरी उपरीक्षक राकेश रंजनले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिनुभएको थियो । प्रशान्त बोस विगत चार वर्षदेखि राँची जिल्लास्थित बिरसा मुन्डा केन्द्रीय कारागारमा थुनामा रहनुभएको थियो । उहाँलाई उनकी पत्नी शीला मरांडी र अन्य सहयोगीसहित नोभेम्बर २०२१ मा झारखण्ड प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्दाको समयमा उहाँ माओवादी पार्टीको पोलिटब्युरो, केन्द्रीय समिति तथा केन्द्रीय सैन्य आयोगका सदस्य रहेको एसएसपीले बताउनु भएको हो ।

पश्चिम बंगालका स्थायी बासिन्दा बोस सन् १९७० को दशकमा स्थापना भएको माओवादी कम्युनिष्ट सेन्टर अफ इन्डियाका संस्थापक सदस्यमध्ये एक रहनु भएको थियो । सन् २००४ मा एमसीसीआइले आन्ध्र प्रदेशलगायत दक्षिणी राज्यहरुमा सक्रिय रहेको सिपिआइएमएल पीपुल्स वार ग्रुपसँग एकतागरी भारतीय कम्युनिष्ट पार्टी (माओवादी) गठन गरेको थियो । भनिन्छ पक्राउ पर्दाको समयमा बोस माओवादी पार्टीको केन्द्रीय क्षेत्रीय ब्युरोका सचिव हुनुहुन्थ्यो । जसअन्तर्गत झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशा पर्छन् । उहाँका उत्तराधिकारी मिसिर बेसरा, जो माओवादी पार्टीको पूर्वी क्षेत्रीय ब्युरोको नेतृत्व गरिरहेको विश्वास गरिन्छ ।

प्रशान्त बोसलाई भारतीय माओवादी संगठनभित्र एक महत्वपूर्ण विचारक र रणनीतिकारकारुपमा लिइन्थ्यो । झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशाका केही भागहरुमा संगठन विस्तारगर्न तथा नेतृत्व संरचना कायम राख्न उनले महत्वपूर्ण भूमिका खेलेको जानकारहरुले बताउने गरेका छन् । भारतीय सरकारले भने त्यहाँ माओवादी पार्टी र राजनीति समाप्तप्रायः अवस्थामा पुगेको जनाएको छ ।