काठमाडौं, २४ चैत । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक–०८१’, ‘पर्यटन विधेयक–०८१’ र ‘चलचित्र विधेयक–०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैबीच हिजोको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद आर्यालले संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफू सदैव सकारात्मक र सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको नीतिगत बहस, छलफलगर्ने र निष्कर्ष निकाल्ने हुन्छ । यस कार्यका लागि संसद् एक खुल्ला विश्वविद्यालय सरह रहने भएकाले आफू सदैव सकारात्मक भएर काम गर्नेछु । सत्तापक्षको गुण र दोषका आधारमा प्रतिपक्षले भुमिका निर्वाह गर्ने भएकाले समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबै सांसदहरुको बराबरी र महत्त्वपूर्ण भूमिका रहन्छ भन्न्ुभएको थियो ।
नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र प्रचलित कानूनलाई मार्गदर्शन मानी समग्र संसदीय क्रियाकलाप सञ्चालनगर्ने उल्लेखगर्दै सभामुख अर्यालले संविधान र प्रचलित कानूनको अधिनमा रही राजनीतिक दलहरुसँगको आपसी सहयोग र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले देशमा सुसाशन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर विकास निर्माणका गतिविधि सञ्चालन गर्ने र आवश्यक कानून बनाउने थलो संसद् भएकाले सबै राजनीतिक दललाई रचनात्मक सहयोग र सहभागिताका लागि उहाँले आग्रह गर्नुभयो । उहाँले म कुनै राजनीतिक दलमा आबद्ध भएर निर्वाचित हुँदै प्रतिनिधिसभाको सहस्य भएको हुँ । अब म दलकोभन्दा राष्ट्रको सभामुख भएकाले यो गरिमामय पद र यसको जिम्मेवारी निर्वाह गरिरहँदा राजनीतिक दलमा सहभागी भएकै कारण सभाको मर्यादामा आँच आउन दिने छैन भन्नुभएको थियो ।
उहाँले सबैको सुझावलाई तथष्टरुपमा कार्यान्वयन गर्दै सभामुख निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउनुभयो । सभामुख अर्यालले सांसद सङ्ख्याका आधारमा कुनै भेद्भाव नहुने बताउँदै सांसद सबैबाट सभा सञ्चालनका लागि क्रियाशिलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गर्नुभएको थियो । संसद्मा जनताको प्रतिनिधित्व गरेर आएका कुनैपनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेद्भाव नहुने उहाँको भनाइ छ । सभामुख अर्यालले हामीले गर्ने प्रत्येक निर्णय र गतिविधि जनताले नजिकबाट अवलोकन गरिरहेका छन् । निर्वाचित प्रतिनिधिजनताले जिताएर पठाएका छन् । सबैले आफ्नो दायित्व आमनागरिकप्रति इमान्दर भएर निर्वाह गर्नुपर्छ भन्नुभएको थियो । उहाँले हरेक नेपाली नागरिकले संसद्मा हुने छलफल र यहाँका गतिविधिमा आफ्नो सहभागिता रहेको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सभामुख अर्यालले नयाँ कानून निर्माण गर्नुभन्दा पहिला बनेका, हाल विद्यमान ऐन कानूनको समिक्षा र पुनरावलोकन गरी कुनकुन कानून खारेजगर्ने, कुनकुन कानूनलाई एकिकृतगर्ने भन्नेबारेमा अध्ययन पुनरावलोकनसहित कानूनको निर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभएको थियो । उहाँले परिणाम प्राप्तिको लागि अझैपनि धेरै महत्वपूर्ण कानून निर्माण, संशोधन र परिमार्जनगर्न बाँकी छन् । त्यसैले समयबद्ध योजना बनाएर ती कार्यहरु सम्पन्नगर्न सबै माननीय सदस्यहरुको सक्रिय सहभागिता अपरिहार्य छ, संसद्लाई निष्क्रिय होइन, कार्यसम्पादनको केन्द्र बनाउनु आवश्यक छ भन्नुभएको थियो । बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत जाहेर हुने भएकाले सबै दलहरुसँगको समन्वयमा संसदको गरिमा उचो राख्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले संसदमा उपस्थित राजनैतिक दल र सबै सदस्यबाट असल संवैधानिक अभ्यास हुने विश्वासपनि व्यक्त गर्नुभएको थियो ।