काठमाडौं, २४ चैत । अब बर्तमान सरकारका मन्त्रिहरुको विदेश भ्रमण शुरुहुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणका लागि आगामी बिहीबार मौरिसस जाँदै हुनुहुन्छ । आगामी २७ र २८ गते मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मन्त्री खनाल मौरिसस जान लाग्नुभएको बताइएको छ । मौरिसस सरकार र भारतीय विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित ‘थिंक ट्यांक’ इन्डिया फाउन्डेसनले उक्त कार्यक्रम आयोजनागर्न लागेको हो ।
नवौं संस्करणको मुख्य नारा ‘हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी’ रहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्री खनाल सम्मेलनमा सहभागी हुन मौरिसस जान लागेको पुष्टि गर्नुभएको छ । कार्यक्रममा भारतका विदेशमन्त्री एस. जयशंकरसहित विभिन्न मुलुकका मन्त्रीहरु सहभागी हुने कार्यक्रम छ । मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग ‘साइड लाइन’ भेटवार्तासमेत गर्ने बताइन्छ । सम्मेलनमा बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथ, भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ओमानका विदेशमन्त्री बद्र हमाद अल बुसैदी, सेसेल्सका विदेशमन्त्री ब्यारी फाउरलगायतले पनि सम्बोधनगर्ने कार्यक्रम छ ।
त्यसैगरी कम्बोडिया, इजिप्ट, माडागास्कर, साउदी अरेबिया, सिंगापुर, कोम्बो, थाइल्यान्ड, यूकेका अधिकारीहरु पनि सहभागी हुने आयोजक इन्डिया फाउन्डेसनले जनाएको छ । यसअघिको केपी ओली नेतृत्वको सरकारका पालामा मन्त्रिहरुको विदेश भ्रमण अत्यधिकम भएको भन्दै आलोचना गरिएको थियो ।