काठमाडौं, २७ चैत । दुई दिने सरकारी बिदाले शैक्षिक क्यालेण्डरमा असर गरेको थाहाभएको छ । एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन पठनपाठन कायम हुनुपर्ने शिक्षा नियमावलीमा व्यवस्था छ । यसैक्रममा राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन)ले सरकारको दुईदिने सार्वजनिक बिदासम्बन्धी निर्णयले बिद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेशनल प्याब्सनकी अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले एक विज्ञप्ति जारीगर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्नगर्न चुनौती उत्पन्न गरेको उल्लेख गर्नुभएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले गत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिकसत्र वैशाख १५ गतेदेखि शुरुगर्ने निर्णय गरिएको थियो । दैनिक ज्यालादारीमा आश्रित अभिभावकका लागि दुई दिने बिदा व्यवस्थापनगर्न कठीन हुने र यसले सामाजिक तथा आर्थिक असर पार्ने सो संस्थाको दाबी छ । यी चुनौतीबीच सरकारको निर्णय कार्यान्वयनगर्दै आफ्ना बिद्यालयलाई आग्रहगर्दै नेशनल प्याब्सनले नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सञ्चालनगर्न आग्रह गरेको छ ।