काठमाडौं, २७ चैत । आजै राष्ट्रपतिले सम्बोधन गर्ने, आजै संसदको अधिवेशन अन्त्य हुने भएको छ । यस्तो घटना यसअघि भएको थिएन । आज दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधनगर्ने कार्यक्रम छ । राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम आज चैत २७ गते शुक्रबारका दिन १५ः०० बजे संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाईनै तोकी मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयकाअनुसार प्रधानमन्त्री शाहको सिफारिसमा गत १३ गते गठित मन्त्रिपरिषदमा उक्त हेरफेर गरिएको हो ।
योसँगै मन्त्रिपरिषदमा अब १४ सदस्य मात्र रहेका छन् । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशन आज चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागूहुनेगरी अन्त्यगर्ने निर्णय गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्यगर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।