काठमाडौं, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि अझै केही दिन अस्पतालमै रहनुहुने भएको छ । गत भदौमा भएको घटनाको छानबिनगर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानकाक्रममा प्रहरी हिरासतमा रहनुभएका उहाँ हिजो हिरासत मुक्त हुनुभएको थियो ।

उहाँ पक्राउ परेदेखिनै अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरुपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि सरकार रिहागर्न बाध्य भएको बताउनु भएको छ । सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रियादिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिनुभएको छ ।