काठमाडौं, २७ चैत । पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा घट्ने र नेपालमा बढ्नेक्रम जारी छ । यसैक्रममा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धिगरेको हो । निगमले गएराति १२ः०० बजेदेखि लागूहुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ का दरले मूल्यवृद्धि गरेको हो ।
त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सयका दरले वृद्धि गरिएको छ । निगमकाअनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर छका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर २०७ पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर २५७ कायम गरिएको छ ।