काठमाडौं, २७ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको हबकारुपमा विकासगर्दै आर्थिकरुपमा सबल बनाउन मेला र महोत्सवबाट टेवा पुग्ने बताउनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा सल्लाघारीको चौरमा शुरुभएको १०औँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको हिजो उद्घाटनगर्दै मन्त्री थापाले भक्तपुरलाई पर्यटनका साथै स्वास्थ्यको हब बनाइने बताउनुभएको थियो । यसअन्तर्गत मन्त्रालयले भक्तपुर अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा सुबिधा सम्पन्न बनाइएको उहाँको भनाइ थियो ।

सूर्यविनायक नगर अस्पताललाई ट्रमा अस्पतालकारुपमा विकासगर्न लागिएको उल्लेखगर्दै मन्त्री थापाले बिरामीले उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गरिने बताउनुभएको थियो । महोत्सवका संयोजक दीपक थापाले महोत्सवको विशेष आकर्षण लन्डन ब्रिज रहेको बताउनुभयो । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रुपमा स्थापित गर्ने उद्देश्यले एक दशकदेखि भक्तपुरमा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना हँुदैआएको बताउनुभयो ।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले १८० भन्दा बढी कक्ष रहेको महोत्सवमा दैनिक उपभोग्य सामान, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री, स्थानीय घरेलु उत्पादन, औद्योगिक उत्पादन, सूचना प्रविधि, कृषि औजार, मोबाइल, विभिन्न परिकारसहितको खाना महोत्सवका साथै सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने जानकारी दिनुभयो । रासस