
काठमाडौं,२८ चैत । बिभिन्न पार्टी सम्बद्ध १५ वटा बिद्यार्थी संगठनहरुले यूनियन खारेज गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । अखिल (क्रान्तिकारी) सहितका बिभिन्न १५ वटा बिद्यार्थी संगठनले काठमाडौंमा पत्रकार सम्मेलनगर्दै उपरोक्त आन्दोलनको घोषणा पनि गरेका छन् । पत्रकार सम्मेलनमा बताइएअनुसार भोली चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रियागर्ने, चैत ३० गतेदेखि आगामी वैशाख ४ गतेसम्म देशका सबै जिल्लामा रहेका क्याम्पसमा छलफल तथा अन्तरक्रियागर्ने तथा वैशाख ५ गते पूर्व बिद्यार्थी नेता तथा सांसदहरुसँग अन्तरक्रियागर्ने कार्यक्रम छ । त्यसैगरि वैशाख ७ गतेदेखि ९ गतेसम्म क्याम्पसमा ब्यानर राख्ने, पर्चा बाँड्नेदेखि हस्ताक्षर संकलनगर्ने, वैशाख ११ गते हरेक विश्वबिद्यालयको उपकुलपतिलाई ज्ञापनपत्र दिने, वैशाख १२ गतेः प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने र वैशाख १५ गते काठमाडौंको बालुवाटार सहित देशभरि कापी–कलम सहितको प्रदर्शनगर्ने कार्यक्रम तयभएको अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँले सरकारले अधिनायकवादको नीति अपनाए स्वीकार्य नहुने चेतावनी पनि दिनुभएको छ । त्यसैगरी अनेरास्ववियुका अध्यक्ष दिपक धामीले सरकारले निषेधको नीति लिने र जनताको आवाज थुन्ने कार्यमा अघिबढ्न खोजेकोभन्दै आपत्ति जनाउनु भएको छ । उहाँले दलीय बिचारसंग आवद्ध संगठनलाई खारेजगर्ने कार्य स्वीकार्य नहुने भन्दै एकतर्फीले सरकार अघिबढ्न खोजे कडा आन्दोलनगर्ने चेतावनी दिनुभएको छ । त्यस्तै संयुक्त बिद्यार्थी संगठनले विश्वबिद्यालयमा प्रविधि एकीकरणको नियमन र अनुगमन गर्नुपर्ने, त्रिभुवन विश्वबिद्यालयले गठन गरेको उच्चस्तरीय आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने,सबै विश्वबिद्यालयको परीक्षाफल प्रकाशन र मौका परीक्षा ३ महिना भित्र सञ्चालन गर्नुपर्ने, तत्काल महँगी नियन्त्रण गरी जनतालाई राहतको प्याकेज घोषणा गर्नुपर्ने, भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय छानबिन आयोग गठनगरी उक्त आयोगको प्रतिवेदनका आधारमा दोषीहरुमाथि कडाकारबाही गर्नुपर्ने लगायतमा माग राखेका छन् ।