
काठमाडौं,२८ चैत । राष्ट्रिय जनमोर्चाले नेपालमा साम्राज्यवादी चाहनाअनुसार गतिबिधि भैरहेको निष्कर्ष निकालेको छ । यसक्रममा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले गत फागुन २१ गते साम्राज्यवादले आफ्नो इन्ट्रेस्टमा चुनाव गराएको र त्यसमा सफलता पनि पाएको दाबी गर्नुभएको छ । राजमो दाङ क्षेत्र नम्बर २ ले हिजो २७ गते घोराहीमा आयोजना गरेको चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले उपरोक्त अभिव्यक्ति दिनुभएको हो । राजमोले आफ्ना साम्राज्यवाद विरोधी चुनावी एजेन्डा बोकेर जनताका बीचमा गएको तर कथित पुराना पार्टीहरुप्रति जनतामा आएको वितृष्णाको लपेटामा आफ्नो संगठन पनि परेको उहाँको भनाइ थियो ।
उहाँले पुराना सबै गलत हुन्भन्ने भ्रम र भाष्य जनतामाझ स्थापना गरियो । त्यसको प्रभावमा हामी पनि प¥यौँ भन्नुभएको थियो । उहाँले आफ्नो लक्ष्यप्राप्तिका लागि चुनावमा सिआइएको अहम भूमिका रहेको विश्लेषण गर्नुभएको थियो । उहाँले अब आफूहरु जनताका बीचमा नेपाल बचाउनका लागि योजनाबद्ध तरिकाले नीति र विचार बोकेर लाग्ने घोषणा पनि गर्नुभएको थियो । उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक महासंघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष सेवक भट्टराई, अखिल नेपाल प्रगतिशील लेखक महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष सुरेशकुमार पाण्डे, राजमो दाङका सहसचिव कृष्णा राना र राजमो जिल्ला समितिका सदस्य मेघराज भट्टराईले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै राजमो घोराही नगर समितिका अध्यक्ष मनिराम खनाल, अखिल नेपाल किसान महामहासंघ (अप्फा) का पूर्व दाङ जिल्ला अध्यक्ष मिनुप्रसाद सुवेदी, जातीय समता समाज दाङका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल ट्रेड युनियन महामहासंघ (अन्टुक) दाङका सचिव कमल पन्थी, अखिल नेपाल जनजाति सम्मेलन दाङका सचिव मङ्गल घर्ती, सम्मेलनकै जिल्ला समितिका सदस्य भौना चौधरी, अखिल नेपाल महिला महासंघ दाङकी सदस्य तथा घोराही नगर अध्यक्ष हेमा पोखरेललगायतले पनि चुनावमा राजमोले खेलेको भूमिका र अनुभव प्रस्तुत गर्नुभएको थियो ।