
काठमाडौं,२८ चैत । एमालेका अध्यक्ष केपी ओलीलाई झुठा मुद्धा लगाएर थुन्न नसकेपछि केही शक्ति केन्द्रहरुले सो पार्टी बिभाजित गराउन भरमग्दुर प्रयास थालेको देखिएको छ । एमालेभित्रको आन्तरिक विवाद बढाउन टोलीनै परिचालन गरिएको सूत्रहरुले बताएका छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणाम र पार्टी अध्यक्ष केपी ओलीको पक्राउपछि एमालेभित्रको आन्तरिक विवाद बढाउने अभियान थालिएको हो । संसदको पहिलो बैठकमा एमाले संसदीय दलका नेता एवं कार्यवाहक अध्यक्ष रामबहादुर थापाले दिनुभएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र वैचारिक र पदीय असहमति बढाउने प्रयास भएको थियो । नेतृत्वको स्वैच्छिक बहिर्गमन र विशेष महाधिवेशनको माग राख्दै शुरु गरिएको अभियान र त्यसलाई रोक्न संस्थापन पक्षले गरेको प्रयासपछि नेताहरुबीच सार्वजनिकरुपमै आरोप–प्रत्यारोप शुरु भएको छ ।
संसदको पहिलो बैठकमा कार्यवाहक अध्यक्ष थापाले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको विजयमा नेपाली सेना, कर्मचारीतन्त्र, र गैरसरकारी संस्थाहरुको भूमिका रहेको दाबी गर्नुभएपछि सो अभिव्यक्तिको पार्टी उपाध्यक्ष विष्णु पौडेल लगायतले विरोध गर्नुभएको थियो । गत बुधबार पोखरामा आयोजित कार्यकर्ता भेलामा पनि थापाले संसदमा आफूले राखेको धारणानै पार्टीको आधिकारिक लाइन भएको दाबी गर्नुभएको थियो । उहाँले आफ्नो विरोधगर्ने नेताहरुलाई ‘दक्षिणपन्थी’ को संज्ञा पनि दिनुभएको छ । थापाको भनाइपछि एमालेका अन्य नेताहरुले सार्वजनिक रुपमै प्रतिवाद गर्नुभएको थियो । उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा कवितामार्फत व्यंग्य गर्दै पार्टीमा ‘बादल मडारिएको’ र मदन भण्डारीको सिद्धान्त ‘जबज’ भिजेको टिप्पणी गर्नुभएको छ । त्यसैगरी नेता सुरेन्द्र पाण्डेले माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक लाइन हुननसक्ने बताउनु भएको छ । उपाध्यक्ष विष्णु पौडेलनिकट नेता खिमलाल भट्टराईले थापाको भाषा र शैली एमालेको मान्यताभन्दा बाहिर रहेको बताउनुभएको छ ।
पार्टी महासचिवसँग भेटेर अध्यक्षसहित शीर्ष तहका केही नेताको भूमिकाबारे गम्भीर बहसगर्ने चाहना राखेर च्यासल पुग्नुभएका पोखरेल महासचिवसँग भेट नपाएपछि पार्टी कार्यालय परिसरस्थित चमेना गृहमा उपस्थित नेताहरु विष्णु पौडेल, विष्णु रिमाल र राजन भट्टराईसँग प्रारम्भिक सामान्य संवादपछि कडा प्रश्न उठाउनुभएको थियो । एमालेले अध्यक्ष ओलीको पक्राउविरुद्ध वैशाख १२ गते काठमाडौंमा प्रदर्शनगर्ने लक्ष्यसहित सबै जिल्ला, पालिका र वडा स्तरमा अगुवा कार्यकर्ता भेला र विरोध प्रदर्शन थालेपछि त्यसलाई बिथोल्न सोही पार्टीभित्र केही नेताहरु परिचालित भएको देखिएको छ ।