काठमाडौं,२८ चैत । नेपाल आयल निगमले तेलको मूल्य जति बढायो त्यति आफ्नो घाटा पनि बढेको अनौठो प्रचार गरेको छ । मध्यपूर्व संकटसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिले नेपाल आयल निगमको घाटा चुलिँदै गएको प्रचार गरिएको छ । घाटा बढ्दै गएपछि पेट्रोलियम आपूर्तिनै प्रभावित हुन सक्नेभन्दै निगमले पेट्रोलियम खपत घटाउन सबैमा अपिल समेत गरेको छ । छिमेकी मुलुकहरु श्रीलंका, पाकिस्तान र बंगलादेशले इन्धन संकट टार्न कोटा प्रणाली, जोर–बिजोर प्रणाली र स्कूल–कलेजमा अनलाइन कक्षाजस्ता कठोर कदम चालेको जानकारी गराउँदै निगमले नेपाली उपभोक्तालाई पनि मितव्ययिता अपनाउन अपिल गरेको छ । निगमले अप्रिल ८ मा आइओसीलाई २६ अर्ब ८६ करोड भुक्तानी गरिसकेको भएपनि आगामी २३ अप्रिलको किस्ताका लागि १६ अर्ब ३७ करोड रुपैयाँ व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको जनाएको छ ।
हालको अवस्थामा पेट्रोलियम पदार्थ खपत नघटाए र मूल्य समायोजन नगरे इण्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानीगर्न नसकिने र मुलुकमा इन्धनको हाहाकार हुनसक्ने निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताउनुभएको छ । उहाँकाअनुसार मार्च ३० देखि अप्रिल ८ सम्मको मूल्य वृद्धि हेर्दा निगमलाई पाक्षिकरुपमा करिब १४ अर्ब अर्थात् दैनिक ९३ करोड रुपैयाँ घाटा हुने देखिएको छ । सरकारले चैत २४ गते भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दोक्रममा रहेका कारण कर छुटले घाटा आपूर्ति हुनसक्ने अवस्था नरहेको निगमको भनाइ छ ।
निगमले पछिल्लोपटक गत बिहीबार पेट्रोलमा प्रतिलिटर १७, डिजेल र मट्टितेलमा २५, एलपी ग्यासमा प्रतिसिलिण्डर सय र हवाई इन्धनमा छ रुपैयाँ मूल्य बढाएको थियो । मूल्य बढाउँदा पनि निगमलाई अझै पाक्षिक करिब आठ अर्ब घाटा रहने बताइएको छ । नेपालमा मूल्य बढेपनि अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ ।