काठमाडौं,१३ वैशाख । विश्व शान्तिको सन्देश प्रवाहगर्ने उद्देश्यका साथ म्यूजिक फर पिस कार्यक्रम आयोजना गरिएको छ । जर्नालिष्ट फर जस्टिस नेपालको आयोजनामा गत शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा संगीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो । संस्थाका अध्यक्ष टिकाराम खड्काले शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्ने सन्देश प्रवाहगर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा रसियन दूतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश सुनाउँदै रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले संगीतलाई सांस्कृतिक संवादको सशक्त माध्यमकारुपमा उद्धृत गर्नुभयो । उहाँले रुस–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको सन्दर्भमा यस कार्यक्रमलाई साझा मूल्य, सांस्कृतिक विविधता, एकता र शान्तिको प्रतीककारुपमा लिएको उल्लेख गर्नुभयो । कार्यक्रममा वाद्यवादकहरु अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, फर्की आऊ र फूलको आँखामाजस्ता लोकप्रिय तथा शान्तिप्रेरित गीतका धुनमा वाद्यवादन प्रस्तुत गर्नुभएको थियो ।