काठमाडौं,१३ वैशाख । नेपालमा औलोको संक्रमण बढ्दै गएको खुलाशा भएको छ । जिल्लाका अस्पतालहरुमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा १२ जनामा औलो रोगको संक्रमण देखिएको छ । दुईहजार ८५६ जनाको औलो परीक्षण गरिएकामा सो संख्यामा संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीकाअनुसार गत आर्थिक वर्षमा आठ हजार ४०५ को औलो परीक्षणका क्रममा ११ जनामा यो रोगको संक्रमण देखिएको थियो ।

उहाँले यहाँ भेटिएका संक्रमित रोजगारीका शिलशिलामा बाहिर गएर आएकाहरुमा देखिने गर्दछ भन्नुभएको छ । उहाँका अनुसार वैदेशिक रोजगारमा भारत र शान्ति मिसनका लागि अफ्रिकन मुलुकमा गएर फर्किएकाहरुमा यो रोगको संक्रमण देखिने गरेको छ । सीमा आवागमन र श्रम प्रवासमा गएकाहरुबाट औलोको उच्च जोखिम देखिएको किट नियन्त्रक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग एनोफिलिज जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । जटिल प्रकारको औलो देखिएमा संक्रमितको ज्यानै जोखिममा पर्ने उहाँले बताउनुभयो । सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका रोगहरु शून्यमा पु¥याउने योजना सहित काम गरिरहेको उहाँले उल्लेख गर्नुभउको छ ।

किट नियन्त्रक केसीकाअनुसार यो रोग लागेमा टाउको दुख्ने, कामज्वरो आउने, जोर्नीहरु दुख्ने, रगतको कमी हुने, शरीर सिथिल हुने, वान्ता हुने, पेट दुख्ने, फियो सुनिने जस्ता लक्षण देखिन्छन् । यस रोगबाट बाँच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, ज्वरो आउना साथ नजिकको स्वास्थ्य संस्थामागई परीक्षणगर्ने, औलो देखिएमा उपचारगर्ने, झ्याल ढोकामा जालिको प्रयोगगर्ने, घर वरिपरि सरसफाइ राख्ने जस्ता उपाय अपनाउन उहाँले सुझाव दिनुभयो । जिल्लामा स्थानीयमा औलोको संक्रमण नभएको उहाँको भनाइ छ ।