काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मिलित कार्यक्रममा गोली चलेको थाहा भएको छ । प्राप्त समाचारअनुसार अमेरिकामा गएराति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजकाक्रममा गोली चलेको हो । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका शीर्ष नेताहरुलाई तत्काल सुरक्षितरुपमा बाहिर निकालिएको थियो । अन्तराष्ट्रिय समाचार संस्थाका समाचार बिवरणहरु अनुसार घटनापछि जेडी भान्स र ट्रम्पको मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई पनि सुरक्षाकर्मीहरुले तुरुन्तै सुरक्षित स्थानतर्फ लगेका थिए । राष्ट्रपति, उपराष्ट्रपति तथा मन्त्रिपरिषद्का सदस्यहरु सबै सुरक्षित रहेको बताइएको छ । एक सुरक्षा अधिकारीले कार्यक्रमस्थलमा बन्दुकधारीले गोली चलाएको पुष्टिगरेका छन् ।

सीएनएनका अनुसार, राष्ट्रपति ट्रम्प पूर्णरुपमा सुरक्षित छन्, भने प्रशासनका एक अधिकारीले मन्त्रिपरिषद्का सबै सदस्यहरु सकुशल रहेको बताएका छन् । त्यहाँ डिनर चलिरहँदा युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका एजेन्टहरुले ‘गोली चलेको’ भन्दै चेतावनी दिएका थिए । त्यसपछि रेडियो सन्देशमार्फत एक शंकास्पद आक्रमणकारीलाई हिरासतमा लिइएको जानकारी गराइएको थियो । घटनापछि कार्यक्रमस्थल वासिङटन हिल्टनको बैंक्वेट हललाई सुरक्षाकर्मीहरुले घेरा हालेका थिए । सयौँ पाहुनाहरु ज्यान जोगाउन टेबलमुनि लुकेका थिएभने सुरक्षाकर्मीहरुले मानिसहरुलाई तल झुक्न र सुरक्षित मार्गतर्फ जान निर्देशन दिएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार पाँचदेखि आठ राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो । ट्रम्पको भाषणको प्रतीक्षामा रहेका सयौँ वरिष्ठ पत्रकार, सेलिब्रेटी तथा राष्ट्रिय नेताहरुबीच हललाई तत्काल खाली गराइएको थियो । घटनापछि नेसनल गार्डका सदस्यहरुले भवनभित्र सुरक्षा व्यवस्था थप कडा पारेका थिए । मानिसहरुलाई भवनबाट बाहिर जान अनुमति दिइए पनि पुनः प्रवेशमा रोक लगाइएको थियो । होटेल बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ र वरपरको क्षेत्रलाई सुरक्षा घेरामा राखिएको थाहा भएको छ ।