काठमाडौं, १६ वैशाख । ट्रेड यूनियन खारेजगर्ने सरकारी निर्णयको अन्तराष्ट्रिय बिरोध शुरुभएको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । एक पत्रकार सम्मेलनगर्दै श्रमिकको हकहितका पक्षमा विभिन्न शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको हो । जसअन्तर्गत सम्मानजनक पारिश्रमिक, सर्वकालीन सामाजिक सुरक्षा, पारिश्रमिकसहित इन्टर्नसिप र तालिम, सीप क्रान्ति, श्रमिक उद्योग सहकार्य, महिला श्रमिक सशक्तिकरण, आप्रवासी श्रमिक संरक्षणलगायत पक्षमा श्रमिकको अधिकार सुनिश्चित गर्ने कार्ययोजना जिफन्टले घोषणापत्रमा उल्लेख गरेको छ ।

ट्रेड यूनियन आन्दोलनलाई गति दिन जिफन्टले उत्पादक, शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्ट्रिय समृद्धि र श्रमिक हित सहितको एकतालाई वैचारिक आधारका रुपमा लिएको जनाएको छ । त्यस्तै, जिफन्टले नेपाल ट्रेड यूनियन आन्दोलनले वर्तमान अवस्थामा सामना गर्नुपर्ने चुनौतीमध्ये, स्वचालन र कृत्रिम बुद्धिमत्ता (एआई), बसाइँसराइ, बढ्दो महँगी र ज्याला स्थिरता, ट्रेड यूनियन सान्दर्भिकताको अध्ययन र विश्लेषण गर्नुपर्ने बताएको छ । पत्रकार सम्मेनलमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मे दिवसका सन्दर्भमा नयाँ आयामका साथ श्रमिकको पक्षमा अभियान शुरु गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रमिकको हकअधिकारका बारे सुचना लेखिएको करिब १५ लाख पर्चा घरदैलोमा पुर्याउनाका साथै मे दिवसको दिन मे १ तारिखमा काठमाडौंमा बृहत् र्याली गरिने समेत बताउनुभयो । उहाँले श्रमिकको पारिश्रमिकसँगै उहाँहरुको अधिकारको कार्यान्वयन पक्ष के कति छ भनेर बहसगर्ने बेला आएको छ । हामीले नयाँ शैलीबाट युवा पुस्तालाई समेट्दै श्रमिक आवाज बलियो बनाउने तयारीमा छौँ भन्नुभएको छ ।